काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएकी छन् । आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको काम कारबाही चित्तबुझ्दो नरहेको बताएकी हुन् ।
कांग्रेस सरकारमा भएर पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाई छ । जनताले सरकार र शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको उनले बताईन् ।
‘अहिलेको सरकारका गतिविधिहरु राम्रो भएन । हाम्रो पार्टी नेपाली कांग्रेस पनि सरकारमा छ । मन्त्रालयका काम कारबाहीहरु पटक्कै राम्रो छैन ।’ उनले भनिन्, ‘कांग्रेस पनि गठबन्धनको सरकारमा छ तर सरकारको अनुभूति गर्न पाएको छैनन् । शान्ति सुरक्षाको अनुभूति गर्न पाएको छैन ।’
उनले सरकारका विरुद्ध शिक्षकहरु जसरी नै अब किसानहरु पनि आन्दोलनमा आउन तयार भएर बसेको बताईन् । तराईका किसान खेतामा पानी नभएर शुद्ध पिउने पानी नपाएर मारमा परेको उनले बताईन् ।
‘जसरी शिक्षकहरु आन्दोलनमा छन, त्यसैगरी किसानहरु पनि आन्दोलन गर्नेवाला छन् । मधेश प्रदेशका किसानहरुको खेतमा पनि छैन, सुख्खा छ । तराईका स्वच्छ खानेपानी छैन ।’ उनले भनिन्, ‘यो विषयलाई पनि अहिलेको मिटिङले सरकारको ध्यानाकार्षण गराओस् ।’