काठमाडौं, ६ असोज । रिपोर्टर्स क्लबका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले जनयुद्ध र जनआन्दोलनका घाईते र सहिद परिवारलाई राज्यले आवश्यक सहयोग गर्न नसकेको बताएका छन् । आज (शनिबार) दिपेन्द्रराज गिरी स्पाईनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै धमलाले राज्यले घाईत र सहिद परिवारलाई उचित सहयोग नगरेको बताएका हुन् ।
धमलाले दिपेन्द्रराज गिरीजस्ता योद्धाको त्याग र बलिदानीका कारणनै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताए । ‘नेपालको क्रान्तिको कुरा गर्दा २०६२/०६३ सालको जनआन्दोलनको एक जना घाईते हाम्रोबीचमा हुनुहुन्छ । दिपेन्द्रराज गिरी जसले हाम्रो देशको वरिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँजस्तो योद्धाको कारणले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं,’– धमलाले भने ।
दिपेन्द्रराज गिरीलाई हेरेर धैर्यता, सहनशीलता र आत्मविश्वासम जागेर आउने धमलाले बताए । गिरी सबैका लागि प्रेरणाको पात्र रहेको उनको भनाई छ । गिरीको यो अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै धमलाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । परिवर्तन ल्याउन दिपेन्द्रराज गिरीजस्ता धेरै योद्धाहरुको योगदान भएपनि परिवर्तनपछि विकास र समृद्धि आउन नसकेको बताए । मञ्चमा रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई धमलाले विकास र समृद्धि कहिले आउँछ ? भनी प्रश्नसमेत गरे ।