काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले पार्टी सदस्यता लिँदाको जस्तो बनाउन आवश्यक रहेको बताएका छन् ।
आज (सोमबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ कांग्रेसभन्दा पनि पुरानै कांग्रेस बनाउनका लागि नैतिकताको कशीमा उभिन आवश्यक रहेको बताएका हुन् ।
‘कुनै बेला शेरबहादुर देउवाले पार्टी सदस्यता लिँदै गर्दाको कांग्रेस जस्तो थियो , पूर्णबहादुर खड्काले लिँदै गर्दाको जस्तो थियो, त्यस्तो कांग्रेस अहिले हामीले बनाउन सक्यौं भने हामी नयाँजस्तो होईन, पुरानोजस्तो कांग्रेस बनाउने कुरामा हामी नैतिक कशीमा उभिन पर्छजस्तो लाग्छ मलाई,’– उनले भने ।
नैतिक हिसाबले ठीक ठाउँमा उभिएर आफ्नो शासन कालमा र जिम्मेवारी पाएको ठाउँमा डेलिभरी गर्न सकेको खण्डमा कांग्रेसलाई कुनै कुराले पनि परास्त पार्न नसक्ने उनको भनाई छ । कांग्रेस बदल्ने कुराको मर्म कांग्रेसलाई कांग्रेसजस्तो बनाउनु रहेको उनले बताए ।