Logo

प्रधानमन्त्री प्रचण्ड र छिङछोङका सचिव युआनबीच भेटवार्ता



काठमाडौं, ९ असोज । चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुन (Yuan Jiajun) ले भेटवार्ता गरेका छन् ।

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । उक्त शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरुको उनले प्रशंसा गरेका थिए ।

भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेको बेला नेकपा (माओवादी केन्द्र) को निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रबद्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे ।

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा. बैकुन्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सल्लाहाकार गोबिन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड आज विहान बेइजिङबाट छोङछिङ आइपुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्