काठमाडौं, ११ असोज । राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकहरुमाथि भएको आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थामा भएको तोडफोडमा गम्भीर ध्यानाकार्षण भएको बताएको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले कुनै पनि वहानामा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण, दुर्व्यवहार र कुटपिट नगर्न अपील गरेको छ ।
‘कुनैपनि वहानामा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण, दुर्व्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न, स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोग नेपाल सरकार, स्वास्थ्यकर्मीहरु र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदछ,’– आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याहरु सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि बताइएको छ ।
आयोगले गत भदौ २४ गते हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङको लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको र असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकहरुमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटना सम्बन्धमा अनुगमन गरेको बताएको छ ।
पछिल्लो घटना पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको उपचारको क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरी अस्पतालको भौतिक संरचना तोडफोड गरेको साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुरव्यवहार भएको पाइएको आयोगले जनाएको छ ।
चिकित्सकहरुको आन्दोलनका कारण उपचारका लागि आएका बिरामीहरु सेवा पाउनबाट बञ्चित भएको भन्दै आयोगले स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोग नेपाल सरकारसँग आग्रह गरेको छ ।
स्वास्थ्योपचारको क्रममा कुनै चिकित्सक दोषी पाइएमा कानुनी बाटो अवलम्बन गर्नुको सट्टा स्वास्थ्य संस्था र सिंगो स्वास्थ्य क्षेत्रलाई नै आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतन्त्र, मानव अधिकार र विधिको शासन विपरित भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।