Logo

शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकको स्थायी नियुक्ति



काठमाडौं, १२ असोज । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो ।

वार्तामा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले आन्दोलन जारी राखेको एक सातापछि वार्ता गरेको हो ।

राहत शिक्षकहरुले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफा ४३ को उपदफा ८ मा भएको ५० प्रतिशत सेवा जोड्ने व्यवस्थालाई सतप्रतिशत बनाउन पर्ने र दफा ४४ को उपदफा ३ मा रहेको ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धा सम्बन्धि व्यवस्थालाई शतप्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग थियो ।

सहमतिसँगै राहत शिक्षकहरुको सेवा शतप्रतिशत जोड्न र शतप्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नियुक्ति दिन सरकार लचिलो भएको छ । देशभर ४० हजारभन्दा बढि राहत शिक्षक कार्यरत रहेका छन् । आन्तरिक परीक्षामा उर्तिण भएको शिक्षक स्थायी हुनेछन् भने अनुतिर्णलाई सरकारले आर्थिक प्याकेजको व्यवस्था गर्नेभएको छ ।



प्रतिक्रिया दिनुहोस्