काठमाडौं, १४ असोज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसं) का अध्यक्ष दुजाङ शेर्पाले सार्वजनिक पद धारण गर्ने सबै व्यक्तिका छोराछोरी सामुदायिक वा सरकारी स्कूल कलेजमा पढाउन पर्ने बताएका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सार्वजनिक पद घारण गर्नेहरुका सन्तान सामुदायिक विद्यालयमा पढाउन पर्ने बताएका हुन् ।
‘अब गुरु (शिक्षक) हरुको छोराछोरीमात्रै सामुदायिक र सरकारी स्कूलमा होईन, मेयर र वडा अध्यक्षका छोराछोरीमात्रै सामुदायिक स्कूल र सामुदायिक कलेजमा होईन । अब जतिपनि सार्वजनिक पद धारण गर्नुभएको छ ।’ उनले भने, ‘उहाँहरु सबैका छोराछोरी सामुदायिक स्कूल , सरकारी स्कूल, सामुदायिक कलेजमा अध्ययन गर्नपर्छ भन्ने यो नेविसंघको ठहर हो ।’
पछिल्लो समय अपवादबाहेकका सामुदायिक विद्यालय गरिबका छोराछोरी पढ्ने विद्यालयका रुपमा स्थापित भएको छ । जसका कारण विद्यालयको शैक्षिक गुणस्तर खस्कदो अवस्थामा रहेको छ । नेविसंघले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि बेला–बेलामा आवाज उठाउँदै आएको छ ।