Logo

बागमती प्रदेश सभामा एमालेको हंगामा, मर्यादा पालकमाथि नै धकेलाधकेल (भिडिओसहित)



काठमाडौं, १५ असोज । प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयकलाई लिएर नेकपा (एमाले) का सांसदहरुले प्रदेश सभा बैठकमा हंगामा गरेका छन् ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पुनर्विचारका लागि फिर्ता भएको विधेयक संसद्मा पेश गर्न अनुमति दिएसँगै एमाले सांसदहरुले विरोध जनाएका हुन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको तर्फबाट आर्थिक मामिला योजना मन्त्री बहादुर सिंह तामाङले फिर्ता भएको उक्त विधेयक प्रदेश सभामा पेश गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजीसहित रोस्टम घेराउ गरेका हुन् ।

एमाले सांसदहरुको विरोधका बाबजुद पनि बहादुर लामाले प्रदेश प्रमुखबाट प्राप्त सन्देश पढिरहेका थिए । एमाले सांसदहरु थप आक्रमक देखिएपछि सभामुखले प्रस्तुति रोक्नका लागि निर्देशन दिए ।

मन्त्री तामाङले प्रस्तुती रोकेपछि पनि एमाले सांसदहरु आक्रमक देखिए । उनीहरुले मयार्दा पालकहरुलाई समेत धकेला धकेल गरे । एमाले सांसदहरुलाई रोक्न मर्यादा पालकहरुलाई हम्मेहम्मे परेको थियो । त्यसपछि प्रदेश सभामुख पाठकले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्