Logo

माधव नेपाललक्षित ओलीको टिप्पणीः ‘ललिता निवास प्रकरणमा भ्रष्टाचारीलाई क्लिन चिट दिएर मुद्दा दर्ता भयो’



काठमाडौं, १६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले ललिता निवास प्रकरणमा अपराधीलाई क्लिन चिट दिएको टिप्पणी गरेका छन् । सरकारले अपराधीलाई क्लिन चिट दिएर पैसा हालेर मालपोतमा गएर जग्गा किन्नेलाई किर्तेमा मुद्दा चलाएको बताएका हुन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यती ठूलो भ्रष्टाचार काण्ड किर्तेमात्रै हुन नसक्ने बताए । ‘सरकारी जमिन व्यक्तिका नाममा हस्तान्तरण गराउने को हो ? क–कसको हात छ ? त्यो खोजी हुनपर्यो । त्यो खोजी त भएको छैन । किर्तेमा भनेर पैसा हालेर धनी पुर्जाका आधारमा मालमा गएर पास गर्नेहरुलाई किर्ते मुद्दा चलाएको छ ।’ ओलीले भने, ‘के किर्ते मुद्दा हो ललिता निवासको मुद्दा ? किर्ते मुद्दामात्रै हो ? यत्रो भ्रष्टाचार काण्ड किर्ते मुद्दा हो ?’

सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेर पनि भ्रष्टाचार गरिरहेको उनको भनाई छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालतर्फ लक्षित गर्दै उनले अनुसन्धानको बहानामा भ्रष्टाचारीलाई क्लिन चिट दिएर मुद्दा दर्ता भएको टिप्पणी गरे ।

‘भ्रष्टाचारीलाई जोगाएर, संरक्षण दिएर यो पनि भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचारीलाई कारबाहीको बहानमा दण्ड सजायबाट क्लिन चिट दिएर पनि भ्रष्टाचार भइरहेको छ । क्लिन चिट दिने मुद्दा चलाइयो । विभिन्न छानविनका नाटकहरु गरिए । अनुसन्धानका नाटक गरिए । मुद्दा दर्ता गरियो ।’ उनले भने, ‘जसलाई दर्ता गरिएको छ, तिनले त उन्मुक्ति पाउलान् नै । खास अपराधीलाई त दर्तै गरेको छैन मुद्दा । जसले भ्रष्टाचार गर्यो त्यसमाथि किन छानविन भएन ? भ्रष्टाचारको फाईल खोल्छु भनेर पनि ब्ल्याक मेलिङ भइरहेको छ । क्लोज गर्छु फाइल भनेर पनि भ्रष्टाचार भइरहेको छ ।’

सरकारले भ्रष्टाचारको इको सिस्टम बनाएर भ्रष्टाचार, तस्करी र लुट धन्दा गरिरहेको उनको अरोप छ ।



प्रतिक्रिया दिनुहोस्