Logo

सरकारले राम्रो काम गर्यो भनेर प्रचण्ड र नारायणकाजीबाहेक कसैले भनेको छैनः महेश बस्नेत



काठमाडौं, १९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निर्माण कार्य पूर्ण रुपमा रोकिएको र शान्ति सुरक्षा कामय गर्न नसकेको बताए । वर्तमान सरकारले राम्रो काम गर्यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक कसैले नभनेको उनको दाबी छ ।

‘वर्तमान सरकारले राम्रो काम गर्यो भन्ने भनाइ चाहिँ प्रचण्ड र नारायणकाजीको मात्रै छ । मूल्यवृद्धिको रेसियो हेर्नुभयो भने आकाश छोएको छ ।’ उनले भने, ‘उद्योगी व्यवसायीहरु आत्महत्या गर्नपर्ने स्थितिमा पुग्यौं भन्छन् । निर्माण व्यवसायीहरु काम गरेको भुक्तानी नपाएर आन्दोलनमा छन् । डाक्टरहरु आन्दोलनमा छन् ।’

साथै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मिलेमतोमा अपराधीहरु छुटिरहेको उनले बताए । संविधान दिवसका दिन आममाफी पाएका रिगल भनिने योगराज ढकालको प्रसंग जोड्दै उनले भने, ‘अपराधीहरु दिन दहाडै लावालस्कर लाएर छुटिरहेका छन् । रिगलजीहरुको ठूलो ¥याली देखिएकै छ । राष्ट्रपति र प्रधानमन्त्री मिलीमिली अपराधीहरुलाई छुटकारा दिइरहेका छन् ।’

सरकारले भ्रष्टाचारको फाइल खोल्ने भनेर हल्ला गरेपनि अनुसन्धानको सुई आफैं र आफ्नातिर तेर्सिएपछि अहिले त्यसको व्यवस्थापन गर्न सरकारलाई नै गाह्रो भइरहेको उनको दाबी छ ।

‘भ्रष्टाचारको फाइल खोल्ने भनेर असंख्य काम भयो , त्यो वायु जगाएको जस्तो भयो, आ–आफ्नो मुन्टो बांगिन थालेपछि वायु जगाउने धामी नै घाईते अवस्थामा छ । सरकार सफल भन्नु भन्ने कुरामात्रै हो, सरकार चौतर्फी असफल भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्