Logo

एनआरएनएको युवा उपाध्यक्षमा रोशन थापाले गरे उम्मेदवारी घोषणा



काठमाडौं, १९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाले सोही पदमा पुनः उम्मेदवारी दिन लागेको बताएका छन् । युवाहरूको हकहितमा धेरै काम गर्न बाँकीनै रहेको भन्दै उनले पुनः सोही पदमा उम्मेदवारी दिन लागेको बताएका हुन् । साथै, थापाले आफूभन्दा अर्को अब्बल उम्मेदवार आएको खण्डमा चुनाव नलड्ने समेत थापाको भनाई छ ।

‘अभियानमा लामो समयदेखि सक्रिय छु । काम गर्ने क्रममा केही अनुभव पनि बटुलेको छु । यो सामाजिक संस्थामा म नै हुनुपर्छ भन्ने छैन । यदि मभन्दा धरै काम गरेका र गर्नसक्ने साथीहरू हुनुहुन्छ र आउनुहुन्छ भने म तगारो भने बन्दिनँ,’– थापाले भने ।

अहिलेको कार्यकाल फाटेको मन टाल्न र सिलाउनमै बितेको बताउँदै उनले अझै एक कार्यकाल निर्वाचित भएर काम गर्ने इच्छा रहेको बताए ।

अघिल्लो कार्यकालमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि निर्वाचन हुन नसक्दा आफ्नो नाम बहुपदीय प्रणालीमा निर्विरोध सूचना पाटीमा आएको उनले बताए ।

‘अघिल्लो कार्यकालमा मैले युवा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ । निर्वाचन प्रक्रियामा पनि भाग लिएको थिएँ । तर, निर्वाचन हुन नसकेर निर्विरोध भनेर सूचना पाटीमा मेरो नाम पनि टाँसियो । त्यसपछि के भयो भन्ने कुरा हामी सबैलाई अवगत नै छ,’ अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले यो डेढ वर्षे कार्यकाल फाटेको मन टाल्न सिलाउनमै बित्यो । मलाई एक कार्यकाल यहाँहरूबाट निर्वाचित भएर काम गर्न एकदमै मन छ । म संस्थामा काम गरेर देखाउनेछु ।’

एनआरएनएमा गर्नुपर्ने काम धेरै रहेको बताउँदै उनले आफू निर्वाचित भएर आइसकेपछि युवा तथा विदेशमा हुर्किंदै गरेको दोस्रो पुस्ताका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्