Logo

लोकतान्त्रिक गणतन्त्रको औचित्य सिद्धान्तले मात्रै पुष्टि हुँदैनः प्रधानमन्त्री दाहाल



काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्य सिद्धान्तले मात्रै पुष्टि नहुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन आएको अनुभूत भएपछि संविधान र व्यवस्थाको औचित्य पुष्टि हुने बताएका हुन् ।

‘लोकतन्त्र आएपछि हामी अधिकार सम्पन्न पनि भयौं । हाम्रो अवस्था पनि फेरियो, दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत गर्ने तहसम्म नजाँदासम्म यसको औचित्य सिद्धान्तलेमात्रै पुष्टि गरेर यो पुष्टि हुँदैन । यस कारण स्थानीय तहमा आधारभूत रुपले राम्रो काम हुँदा नै संविधानको औचित्य पनि, संघीय लोकतान्त्रिक गणतान्त्रको औचित्य पनि पुष्टि हुने कुरा हो,’– उनले भने ।

अझै पनि कयौं ऐन, नियम र कार्यविधि बनाउन बाँकी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले एकथरी मानिस केही गर्न नदिएर यो व्यवस्था गलत सावित गर्ने पक्षमा रहेको टिप्पणी गरे ।

‘एकथरी मानिसहरु ती ऐन बनाउने र यो परिवर्तनको परिणाम जनतालाई सकारात्मक ढंगले दिने भन्दा ऐन बन्न नदिने वा त्यसलाई कुनै तरिकाले रोक्ने र यो गणतन्त्रले जनतालाई राम्रो गरेको छैन बनाउन चाहने प्रवृत्ति हामी कहाँ छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्