Logo

कोशी प्रदेशको राजनीतिक स्थायित्वका लागि एमाले अधिकतम् लचिलो हुन तयार छः रेवती रमण भण्डारी



काठमाडौं, २२ असोज । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले प्रदेशको राजनीतिक स्थायित्वका लागि आफूहरु अधिकतम् लचिलो हुन तयार रहेको बताएका छन् ।

गठबन्धन दलहरुले एमालेलाई बाइपास होईन, सहकार्य गरेर जाउँ भन्ने चाहेको खण्डमा एमाले सहकार्यका लागि तयार रहेको उनले बताए ।

‘प्रदेशको राजनीतिक स्थायित्वको लागि मुख्यमन्त्रीले राजनीनामा दिने क्रममा धेरै कुरा भन्नु भएको छ । हामी अधिकतम् लचिलो छौं राजनीतिक स्थायित्वको लागि । खाली एमालेलाई मात्रै पेल्ने, साइड लगाउने र अस्तित्वलाई नै नामेट गर्ने हिसाबले व्यवहार गर्दा त्यही ढंगले व्यवहार गर्ने हो ।’ रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘स्थायित्व दिउँ भनेर उहाँहरु आउनुहुन्छ भने हामी हदै लचिलो भएर सहयोग गर्न तयार छौं । एमालेलाई बाइपास होईन, सहकार्य गरेर जाउँ भन्न आउनुहुहन्छ भने हामी सहकार्यका लागि तयार छौं ।’

गठबन्धन दलका केही नेताहरुले एमालेसँग सहकार्यका प्रस्ताव राखिरहेको पनि उनले बताए । एमालेले विचार गरौंला भन्ने जवाफ दिएको उनको भनाई छ । दलले सिफारिस गरेको पात्रमा एमालेले समझदारी हुँदै गर्दा समर्थन गर्ने उनको भनाई छ । ‘गठबन्धन दलका साथीहरुले हामीलाई सम्पर्क गर्नु भएको छ । संख्या पुर्याएर ल्याउनुस्, विचार गरौंला भनेका छौं । एमालेले समर्थन गर्नसक्छ,’– उनले भने ।

‘कांग्रेसले उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गर्यो भने पनि तपाईँहरु तयार हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘कांग्रेसले उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने गरी कांग्रेसले तयारी थालेमा पनि हामीलाई आपत्ति छैन । दलीय व्यवस्थामा दलले निर्णय गरेको कुरा हामीलाई आपत्ति छैन ।’

अहिलेको देशको आर्थिक स्थितिलाई ध्यानमा राखेर एमालेले कोशीमा मध्यावधि नचाहेको उनको भनाई छ । सबै दल मध्यावधिका लागि तयार भएको खण्डमा एमालेलाई कुनै आपत्ति नरहेको उनले बताए ।

‘सबैले माध्यावधि चाहने, एमालेले नचाहने भन्ने चाहिँ होईन । अहिलेको मूलुकको आर्थिक अवस्था लगायतका कारणले गर्दा माध्यावधिमा जान उपयुक्त छैन भन्ने हाम्रो धारणा हो । सबै दलहरु माध्यावधिका लागि तयार हो भने हामी पनि तयार छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्