Logo

रिगलको आममाफीविरुद्ध अनशनरत भारती भन्छिन्, ‘मेरो नजरमा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति हुनुहुन्छ’



काठमाडौं, २३ असोज । हत्या अभियोगमा कैद सजाय भुक्तान गरिरहेका रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध अनशनरत भारती शेर्पाले आफ्नो नजरमा सबैभन्दा ठूलो हत्यारा राष्ट्रपति भएको बताएकी छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपतिजस्तो देशकै अभिभावकले अपराधीलाई आममाफी दिने कुरा सोच्न पनि नसकिने बताईन् ।

सरकारले आममाफीको लागि सिफारिस गरेपनि कस्तो प्रकारको मुद्दा हो, आममाफी दिन मिल्ने कि नमिल्ने हो लगायतका कुरा राष्ट्रपतिले नबुझी राष्ट्रपतिले निर्णय गरेको उनको अरोप छ ।

‘सबैभन्दा ठूलो हत्यारा मेरो नजरमा राष्ट्रपतिनै हुनुहुन्छ । सबैभन्दा ठूलो हत्यारा उहाँलाई नै मैले मान्छु । कानुनले तोकेको जुन सजाय थियो, उ (रिगल) काटिनै रहेको थियो । सरकारले आममाफीको सिफारिस गरिसकेपछि पनि राष्ट्रपति भनेको अगुवा हुनुहुन्छ ।’ उनले भनिन्, ‘हामी जनताको मान सम्मान सबै कमाएर बसेको मान्छे उहाँले एक पटक हेर्नुपर्ने थियो । कुन किसिमको मुद्दा हो ? आममाफी दिन सकिन्छ कि सकिँदैन ? भनेर उहाँले ध्यान दिनुपर्ने हो ।’

रिगलले राज्यशक्तिको दुरुपयोग गरेर आममाफी पाएको जानकारी पाएपछि आफू रिले अनशनको लागि काठमाडौं आएको उनले बताईन् । आफूले सुरु गरेको रिले अनशनमा पूरै नेपालीहरुको समर्थन रहेको महशुस गरेको उनको भनाई छ ।

रिगललाई कानुनले तोकेको पूरै सजाय हुनुपर्ने उनको माग छ । ‘हत्यारालाई सजाय हुनपर्यो । उसको सजाय कानुनमा जुन तोकिएको छ, पूरै भएको छैन । आममाफी दिने राष्ट्रपति हुनुहुन्छ । राष्ट्रपतिले मात्रै आममाफी दिएर सजाय पूरा भयो भन्न मिल्दैन,’– उनले भनिन् ।

आफूलाई यसअघि राष्ट्रपतिको बारेमा थाहा नभएको उनले बताईन् । आममाफी पाएपछि राष्ट्रपतिको बारेमा खोजी गर्दा परिपक्व मान्छेबाट यस्तो बदमासी भएको थाहा पाएको उनले बताईन् । राष्ट्रपति पौडेलको फोटो देख्दैमा आफूलाई झनै रिस उठेको उनको भनाई छ । पीडित परिवारको सहमति विना राष्ट्रपतिलाई पनि आममाफीको अधिकार हुन नहुने उनको भनाई छ ।

‘उसले एउटा मान्छेमात्रै मारेको छैन, पूरै परिवार खत्तम भएको छ । त्यस्तो हत्यारालाई आममाफी दिने अधिकार राष्ट्रपतिलाई छैन । मेरो नजरमा राष्ट्रपतिले सबै गर्न पाउने अधिकार छैन,’– भारतीले भनिन् ।



प्रतिक्रिया दिनुहोस्