Logo

हत्यारालाई ममाथि औंला उठाउने अधिकार छैनः भारती शेर्पा



काठमाडौं, २३ असोज । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध अनशनरत भारती शेर्पाले हत्यारालाई आफ्नोबारे औंला ठड्याउने अधिकार नरहेको बताएकी छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आममाफीपछि रिगलले भ्रम फैलाउन खोजेको भन्दै उनले हत्यारालाई आफूविरुद्ध औंला उठाउने अधिकार नहरको बताएकी हुन ।

रिगलले विभिन्न मिडियाहरुमा अन्तरवार्ता दिँदै यसअघि भारतीले पैसाको लागि बार्गेनिङ गरेको, अर्को विवाह गरिसकेपछि पनि विधवाको भेषमा आएर अनशन बसेको लगायतका अरोप लगाएका थिए । उनको आरोपको खण्डण गर्दै भारतीले आफूले रिगललाई हत्याराको नजरले हेरेको र उसलाई औंला ठड्याउने अधिकार नरहेको बताएकी हुन् ।

‘छ वर्षपछि मलाई मेरा सासु ससु्राले कान्यादान गरेर पठाउनु भएको हो । यो कुरा मिडियामा पनि मैले खुलाइसकेको थिएँ । एउटा हत्याराले मलाई औंला उठाउने कुनै अधिकार छैन । पहिला उसले आफूलाई हेरोस् । उसलाई प्रमाण दिन जरुरी छैन,’– उनले भनिन् ।

आफ्नो विवाहको सन्दर्भमा विभिन्न मिडियाहरुको समाचार आएको र अदालतमा पेश गरेको निवेदनमा समेत भारती शेर्पा उल्लेख भएकाले यस विषयमा वहसको आवश्यकता नरहेको उनले बताईन् ।

रिगलले आममाफी पाएपछि घर परिवारमा त्रास बढेको उनको भनाई छ । अरुलाई पनि केही गर्ने हो कि भन्ने त्रासले चेतनका बाबुआमा चुपचाप बसिरहेको उनले बताईन् ।

‘उहाँहरु डर त्रासमा हुनुहुन्छ । छोरालाई त सिध्यायो, अब उ बाहिर निस्किसकेपछि फेरि हाम्रो परिवारलाई नै मार्ने हो कि भन्ने डर त्रासको कारण आउनु भएको छैन । म चाहिँ चुप लागेर बस्न सकिनँ ।’ उनले भनिन्, ‘आफूलाई सम्हाल्न सकिन । उसले एउटा मान्छेलाई मारेको छैन कि पूरै परिवारलाई मारेको छ । यो घटनाले गर्दा जिन्दगी तहसनहस भएको छ । जसलाई परेको हुन्छ, त्यो व्यक्तिलाईमात्रै थाहा हुन्छ । जाने मान्छे गइसक्यो भन्ने मेरो सोचमा छैन । मेरो जिन्दगीमा यो घटनाले गर्दा अहिलेसम्म पनि म अगाडि बढ्न सकेको छैन ।’



प्रतिक्रिया दिनुहोस्