Logo

रिगलको बचाउमा उत्रिए सहमहामन्त्री राठौर, कांग्रेसको नेता भएकै कारण आममाफीमा विरोध भएको दाबी



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सरकारले दिएको आममाफीबारे विरोध गर्न आवश्यक नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सरकारले विधि, प्रक्रिया र कानुन पुर्याएर आममाफी दिएको बताए ।

उनले कांग्रेसको नेता भएकै कारण रिगलको आममाफी विवादित बनेको समेत बताए । रिगलका बाबुदेखि ससुरालीसम्म कांग्रेसी रहेको सहमहामन्त्री राठौरले बताए ।

‘ढकालजीको बुबा पनि पुरानो कांग्रेस हो । उहाँको सासु पनि २०७४ का कांग्रेसबाट वडा अध्यक्षको चुनाव लडेको हो । ढकालजी पनि नेविसंघ हुँदै तरुण दलको क्षेत्रीय अध्यक्ष हुनुहुनथ्यो । राज्यले गरेको कु्रा हो । यसमा नियम कानुन पुर्याएर गरेको होला । जसरी पहिले गर्ने गरेको थियो । यो पहिलो घटना पनि होईन् । कांग्रेसको नेता भएको कारणले मात्रै छलफल गर्नपर्ने ?’ प्रश्न गर्दै उनले भने, ‘के एमालेका नेताहरु भएका छैनन् ? माओवादीका भएका छैनन् ? कांग्रेसका नेता कार्यकर्ता भयो भनेमात्रै छलफल गर्न पर्ने ? जसरी कांग्रेसका नेता भएपछि जेल जान पर्ने, अरु पार्टीका नेता केसबाट अलग्गिने । यो कुरामा गम्भीर रुपमा समीक्षा हुन जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्