Logo

इजरायलको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभु साहले गरे सरकार र राजदूतको आलोचना



काठमाडौं, २३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले विद्रोही समुह हमासको आक्रमणबाट इजरायलमा नेपालीहरुले ज्यान गुमाउन परेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यसमेत रहेका साहले आज (मंगलबार) समितिको बैठकमा उक्त घटनामा सरकार र नेपाली राजदूतावासले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गरे ।

उद्धारका लागि याचना गरिरहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने व्यवस्था गर्न नसकेको, उक्त ठाउँ नेपालीहरुका लागि सुरक्षित वा असुरक्षित कस्तो छ आफ्नो स्पष्ट धारणा व्यक्त गर्न नसकेको र कूटनीतिक पहल कमजोर देखिएको उनको आरोप छ ।

त्रासदी जीवन विताइरहेका नेपाली नागरिकलाई यतिलामो समयसम्म उद्धार गर्न नसक्नु, कूटनीतिक पहल नहुनु र सम्बन्धित दूतावासको सक्रियता नदेखिनुलाई उनले राजनीतिक भागबण्डाको आधारमा राजदूत नियुक्तिको परिणामको संज्ञा दिए । उनले दलीय भागबण्डाको आधारमा हुँदै आएको राजदूत नियुक्ति प्रक्रियामाथि खुलेर आलोचना गरे ।

राजनीतिक भागबण्डाको आधारमा राजदूत नियुक्तिका कारण कूटनीतिक तहमा नेपाल कमजोर हुँदै गएको उनको भनाई छ । इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्धार, व्यवस्थापन र मृतकहरुको शव ल्याउने वातावरण मिलाउन उनले सकारको ध्यानाकार्षण गराए ।

आफ्ना नागरिकहरु अप्ठ्यारोमा पर्दा पनि प्रभावकारी ढंगले काम नगरेको भन्दै उनले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई फिर्ता बोलाउन पराष्ट्रमन्त्रीको ध्यानाकार्षण गराए ।



प्रतिक्रिया दिनुहोस्