Logo

खानेपानी मन्त्री यादवमाथि नगरपालिकालाई बन्धक बनाएको अरोप, मेयर साहले गरे भण्डाफोर (भिडिओसहित)



काठमाडौं, २४ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका प्रमुख विनोद कुमार साहले विगत डेढ वर्षदेखि आफूहरुले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले पालिकालाई बन्धक बनाएको बताएका हुन् ।

सोही पालिकाको स्थानीय बासिन्दा रहेका मन्त्री यादव आफूहरुलाई असफल बनाउन लागि रहेको उनको भनाई छ । आफू २०७९ वैशाखमा हाम्रो निर्वाचन सम्पन्न भएर आएपनि प्रशासकीय अधिकृत नभएको कारण कुनै पनि विकास निर्माणका काम गर्न नसकिएको उनले बताए । आफू निर्वाचित भएर आएदेखि सामान्य प्रशासन मन्त्रालयले दीगो गरेर प्रशासकीय अधिकृत पठाउन नसकेको उनको भनाई छ ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउन गरेको विभेदले हरिपुर्व नगरपालिका यो देशमा पर्छ कि पर्दैन ? भन्ने प्रश्न उब्जिएको उनको भनाई छ । आफू निर्वाचित भएर आउँदा मित्रलाल ढकाल प्रमुख प्रशासकीय अधिकृत रहेको उनले स्मरण गरे । ढकाललाई आफूले जनताको पक्षमा हुने गरी छिटो, छरितो र निश्पक्ष ढंगले काम गर्नभन्दा त्यहाँ नबस्ने इच्छा व्यक्त गरेको उनले बताए । त्यसपछि आफूले बुझ्दा ढकालको सरुवा ०७८ चैत्रमै त्यहाँबाट अन्तै भएको तथ्य थाहा हुन आएको उनले स्मरण गराए ।

ढकाल पुनः अन्तै सरुवा भएर गएपछि ०७९ मा भदौमा वसन्त न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले पठाएको उनको भनाई छ । उनलाई पनि छोटो अवधिमै सरुवा गरिएको मेयर साहले बताए । त्यसपछि गत चैत २२ गते ध्र्रुबराज आचार्यलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको र उनी हाजिर नहुँदै २९ गते नै सुरुवा भएको उनको भनाई छ । प्रशासकीय अधिकृत नभएकै कारण गत असाढ मसान्तका १४ करोड रकम फ्रिज भएर गएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै आफूहरु गत चैतदेखि सामान्य प्रशासन मन्त्रालय धाइरहेको उनले बताए ।

‘चैतदेखि अहिलेसम्म हामी सामान्य प्रशासन मन्त्रालयमा धाएकोधाएै छौं । अहिलेसम्म हामीलाई कुनै प्रशासकीय अधिकृत दिएको छैन,’– मेयर साहले भने ।

तत्कालीन सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हरिपुर्वामा कोही जान नमानेको भन्दै टारेको उनले बताए । तत्कालीन मन्त्री मोदीलाई धेरै जोडबल गरेपछि कोही छन् भने सिफारिस गर्न भनेपछि आफूले प्रशासनमा १० वर्ष अनुभवी शम्भुप्रसाद यादवलाई पठाउन भनेको उनले बताए । यादवलाई तत्कालीन मन्त्री मोदीले वैशाख १५ गते पठाएर १७ गतेनै फिर्ता बोलाएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा मन्त्रालयको कामकारबाही प्रभावित बनेको उनको भनाई छ । मेयर साहले प्रशासकीय अधिकृत नहुँदा चाडवाडको समयको समयमा नगरपालिकाले कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतको खर्च निकासा गर्न नसकेको बताए । चाडवाडको समयमा तलब÷भत्ता लगायतको खर्च निकास हुन नसक्नु्को जिम्मेवारी मन्त्रालयले लिनुपर्ने उनको भनाई छ ।

‘अहिले हामी सामाजिक सुरक्षा भत्ता लगायतक कर्मचारीको तलब भत्ता दिन सक्दैनौं ।’ मेयर यादवले भने, ‘चाडवाडको बेलामा सम्पूर्ण जिम्मेवारी मन्त्रालयले लिनपर्ने हुन्छ । नत्र हाम्रा कर्मचारीहरुले सामान्यमा आएर के गर्नपर्छ आफैं गर्नुहुन्छ ।’

त्यसैगरी, सोही नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामबाबु राय यादवले चुनाव भएको डेढ वर्षमा प्रशासकीय अधिकृत पठाउन माग गर्दै धेरै पटक मन्त्रालयल आउनुपरेको गुनासो सुनाए । मन्त्रालयले प्रशासकीय अधिकृत आज पठाउने र भोलि फिर्ता बोलाउने गरेको उनको आरोप छ ।

‘चुनाव भएको डेढ वर्ष भइसकेको छ । यो अवधिमा पटक–पटक प्रशासकीय अधिकृत खोज्दै सामान्य मन्त्रालयलमा आएका छौं । प्रशासकीय अधिकृत आज गयो, भोलि फिर्ता भइरहेको छ,’– उनले भने ।

सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष नेखेलाल राय यादवले संघीय सरकारका खानेपानी मन्त्री यादवको चलखेलका कारण पालिकाले प्रशासकीय अधिकृत पाउन नसकेको बताए । प्रशासकीय अधिकृत नहुँदा निर्वाचन भएको डेढ वर्षमा कत्तिपनि विकासको काम गर्न नसकिएको उनले बताए ।

‘चुनाव भएको डेढ वर्ष भयो । आजसम्म डेढ रुपैयाँको पनि विकासको कार्य भएको छैन ।’ उनले भने, ‘हाम्रो मेयरले संघीय मामिलाबाट हाकिम लिएर जानुहुन्छ, बाटैबाट फिर्ता गरिन्छ । यो सारा खेल खानेपानी मन्त्री महेन्द्र राय यादवको छ ।’

सोही नगरपालिका वडा नं ५ का वडाध्यक्ष विजय भुषण प्रसाद साहले प्रमुख प्रशासकीय अधिकृत नपाएर नगरापालिका डेढ वर्षदेखि पीडित रहेको सुनाए । मन्त्रालयले प्रशासकीय अधिकृत पठाउने र बाटोबाटै फिर्ता बोलाउने गरेको उनको आरोप छ ।
‘यहाँबाट पठाउने र पठाउनेवित्तिकै कुनैले बाटोबाटै फिर्ता गरिदिने, कसैलाई डेढ÷दुई महिना पनि बस्न नदिने अवस्था छ ।’ वडाध्यक्ष साहले भने, ‘डेढ वर्षमा हामीले कुनै काम गर्न सकेका छैनौं । विकासको काम शून्य छ । नगरपालिका सञ्चालनका लागि प्रशासकीय अधिकृत पठाउनुपर्यो ।’

त्यस्तै, वडा नं ८ का वडाध्यक्ष रामेश्वर राय यादवले नगरपालिकामा प्रशासकीय अधिकृत नभएकाले निर्वाचनको क्रममा शिक्षा, स्वास्थ्य, कृषिमा सुधार र विकास निर्माण कार्यका लागि गरेको प्रतिवद्धता पूरा गर्न नसकेको बताए ।
‘विकास केही भएको छैन । निर्वाचनको क्रममा शिक्षा, स्वास्थ्य, कृषिमा सुधार र विकास निर्माणका लागि गरिएको प्रतिद्धता पूरा गर्न सकिएको छैन,’– उनले भने ।

सामान्य प्रशासन मन्त्रालयमा आएर भीख मागेजस्तै प्रशासकीय अधिकृत माग्न परेको उनले बताए । मन्त्रालयमा जाँदा मन्त्रीका श्रीमानले खानेपानी मन्त्री महेन्द्र रायलाई भेट्न भनेको उनले सुनाए ।

‘सामान्य प्रशासन मन्त्रालय धाउँदाखेरी त्यहाँ मन्त्रीज्यूको श्रीमान गेटमा बस्नुहुन्छ । हामी कामले जाँदा ‘तपाई यो मन्त्रालय किन आएको ?’ वडा नं ८ का वडाध्यक्ष यादवले प्रश्न गर्दै भने, ‘आफ्नो गाउँको मन्त्री महिन्द्रा राय यादवसँग भेट्नु’ भन्नुहुन्छ ।’

संघीय सरकारका मन्त्री यादवको चरित्र मन्त्री भएर पालिका, प्रशासकीय अधिकृत र वडा अध्यक्षको पछाडि लाग्ने, मान्छे पठाएर गाली–गलौज गराउने रहेको उनले बताए ।

वडा नं ९ का वडा अध्यक्ष सुरेन्द्र महतो कोइरीले नगरपालिकामा द्वन्द्व हुनुको पछाडि मुख्य हात संघीय सरकारका खानेपानी मन्त्री यादवकै रहेको दाबी गरे । केही गर्न नदिएर मन्त्री यादवले आफूहरुलाई असफल बनाउन खोजेको उनको आरोप छ ।
‘हाम्रो नगरपालिकामा द्वन्द्व भएको÷ गराएको खानेपानी मन्त्रीले हो । उहाँको जातीय विभेद धेरै छ । काम गर्नै नदिने, हाम्रा मेयर साह पर्नुभयो, उहाँ (मन्त्री) यादव हुनुहुन्छ त्यही भएर उहाँलाई केही गर्न नदिने चरित्र बनेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्