Logo

जनयुद्धलाई अपराधीकरण गर्ने धृष्टता नगर्न विप्लवको चेतावनी



काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी र जनयुद्धलाई अपराधीकरण गर्ने दृष्टता नगर्न चेतावनी दिएका छन् । आज (बुधबार) झापाको विर्तामोडमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले जनयुद्धलाई अपराधीकरण गर्न खोजे जनयुद्ध व्युँताउने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताले माओवादी र जनयुद्धप्रति गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले भने, ‘जनयुद्ध र माओवादी नेपाली इतिहासको गौरवपूर्ण क्षण हो । आज कसैले त्यसलाई अपराधीकरण गर्ने धृष्टता गर्छ भने, जनयुद्ध त्यतिबेला भएको थियो, अब हुँदैन भन्ने कसैको दिमागमा छ भने फेरि जनयुद्ध १० फिटबाट जागेर आउनेवाला छ । पुरानो होईन, १० वर्ष लगाएको जस्तो होईन, नयाँ बनेर आउँछ । बचेखुचेका सबैलाई बढार्छ ।’

विगतको १० वर्षे जनयुद्ध शोषित, पीडित महिला, बालबालिका र दलित, जनजाती र उत्पीडित वर्गको मुक्तिका लागि भएको स्मरण गराउँदै उनले जनयुद्धमाथि अपमान नगर्न चेतावनी दिए ।

‘जनयुद्ध त्यसै भएको होईन, हाम्रा दिदी बहिनीमाथि बलात्कार हुन थालेपछि, आधार क्षेत्रमा जनताको घर लुट्न थालेपछि, हाम्रा आमाबाहरुलाई अपमान गर्न थालेपछि र हाम्रो घरहरु भत्काउन थालेपछि जनयुद्ध भएको हो कि होईन । किसानमाथि जमिनदारहरुले अत्याचार मच्चाएपछि गाउँका जाली फटाहहरुले मुद्दा हाल्न थालेपछि उठिबास लगाउन थालेपछि भएको हो,’– विप्लवले भने ।

आफ्नो घरको सम्पत्ति पार्टीलाई बुझाएर माओवादीहरुले जनयुद्ध लडेको बताउँदै उनले आफूहरु कसरी अपराधी भएको हो भनि प्रश्न गरे । ‘हामी आफ्नो कमरेड ढल्दाखेरी बन्दुक टिपेर मोर्चा कस्ने मान्छे । हामी सियो र धागो कसैबाट नलिएर जनतालाई भनेर सहयोग मागेर भोकैतिर्खै बसेर भएपनि, जनताले दिएको खाजा मकै खाएर भएपनि लड्ने मान्छे हामी हौं । हामी कसरी अपराधी, कसरी हत्यारा ? हामीले हजारौं वर्षको सामन्तवादलाई प्रतिरोध गरेका हौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्