Logo

एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, २८ असोज । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (आईतबार) काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू.३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ ) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू.१७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कूल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, छ सय ३१ एटिएम, एक सय १० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरिसकेकको छ ।

देशको कूल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्