काठमाडौं, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाप्रति विश्वभरीका नेपालीहरुमा नयाँ आशा र भरोसा रहेको बताएका छन् । आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपालमा समाजवादी मोर्चाको भविष्य उज्जवल रहेको बताए ।
‘विश्वभरीका नेपालीहरुमा पनि समाजवादी मोर्चाप्रति नयाँ आशा, नयाँ भरोसा, यो मोर्चाले केही गर्नसक्छ । यो मोर्चा एकताबद्ध भएर अगाडि बढ्यो भने नेपालमा समाजवादी आन्दोलनको भविष्य उज्जवल हुनसक्छ भन्ने भरोसा लिएर बसेको मैले प्रत्यक्ष अनुभव गरेँ,’– उनले भने ।
आफू देशबाहिरका देशहरुमा जाँदा त्यहाँका कम्युनिष्ट, वामपन्थी र समाजवादीहरुसँग समाजवादी मोर्चाको बारेमा अन्तरक्रिया गरेको उनले बताए । नेपालमा समाजवादी मोर्चाको भविष्य, आवश्यकता र औचित्यबारे देशबाहिरका कम्युनिष्टहरुले पनि वहस सुरु गरेको उनले बताए ।
‘यो मोर्चालाई सुदृढ गर्ने जिम्मेवारी हाम्रोमात्रै छैन । यो मोर्चाप्रति नेपाली जनतालेमात्रै होईन, देशबाहिरकाले र मैले ती देशहरुमा जाँदै गर्दा त्यहाँका कम्युनिष्ट, वामपन्थी र समाजवादीहरुसँग पनि अन्तरक्रिया गर्ने अवसर मिल्यो । उनीहरुले पनि नेपालमा यो मोर्चा गठनको आवश्यकता, औचित्य र यसको भविष्यबारेमा तर्फ वितर्क र बहसहरु गर्न थालेको मैले देखेको छु,’– उनले भने ।