Logo

समाजवादी मोर्चा हाम्रो अन्तिम उद्देश्य होईन, एउटै दल बनाउँछौंः प्रचण्ड



काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा रहेका दलहरुलाई एउटै दल बनाउने रणनीति रहेको बताएका छन् ।

आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी अहिले समाजवादी मोर्चामा जसरी छौं, मोर्चानै हाम्रो अन्तिम उद्देश्य होईन । यो मोर्चालाई एउटै पार्टी केन्द्रमा लैजाने हाम्रो रणनीति हो । यसमा हामी सबैले मद्दत गर्न जरुरी छ । आन्दोलनलाई एउटै शक्तिशाली केन्द्र बनाउनु छ । र यो देशको नेतृत्व हामीले लिनुछ । हामीले नेतृत्व लिएमात्रै यो देश बन्छ, अन्यथा यो बन्न सम्भव छैन,’– उनले भने ।

समाजवादी मोर्चाभित्रका नेताहरुले पनि कहिलेकाही अलि सानो चित्त देखाउने गरेको उनको भनाई छ । एकले अर्कोलाई तल पारेर आनन्द मान्ने प्रवृत्ति देखिएको भन्दै उनले एकअर्काबाट सिक्ने बानी बसाल्न मोर्चामा आवद्ध सबै दलका नेता तथा कार्यकर्तालाई आग्रह गरे । नराम्रा कुरा के हुन् भन्दा पनि राम्रा कुरामा ध्यान दिन आवश्यक रहेको उनले बताए । मित्रलाई कहिले पनि घाउमा नुनचुक छर्किने काम राम्रो नहुने उनको भनाई छ ।

मोर्चा गठन भएर सातै प्रदेशको सन्देश सभा सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले आगामी दिनमा मोर्चा जिल्लास्तर र सडकमा आन्दोलन बनेर जाने उनले बताए । सामाजवादी मोर्चा आन्दोलन बनेर सडकमा पुगेपछि सरकारलाई प्रभावकारी बनाउन मद्धत पुग्ने उनको भनाई छ ।

‘अब आउने दिनमा जिल्लास्तरमा र सडकमा आन्दोलन बनेर जानपर्छ । यो समाजवादी मोर्चा जब सडकमा पुग्नेछ, सरकारलाई प्रभावकारी बनाउनका लागि जब गतिविधि सुरु गर्नेछ, सदनभित्र विधेयकहरु अगाडि बढाउन एउटा नयाँ वातावरण बन्नेछ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्