Logo

कारागार सुधारको पक्षमा निरन्तर लागिरहेका सांसद खतिवडाले दसैंका लागि खसी उपहारसहित भेटे कैदीबन्दी



काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं ओखलढुङ्गा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले बडादसैंको अवसरमा जिल्ला कारागार पुगेर कैदी बन्दीहरुलाई खसी उपहार दिएका छन् । उनीसहित प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतको टोलीले कारागारको अनुगमन गरेका थिए ।

ओखलढुङ्गा कारागारको अवस्था जीर्ण हुँदा त्यहाँका कैदी बन्दीहरु पीडामा रहेको बताउँदै सांसद खतिवडाले जनप्रतिनिधिको हैसियतले उनीहरुले पनि चाडबाडको बेलामा मिठो मसिनो खान पाउन भनेर खसी उपहार दिएको बताए । ओखलढुङ्गा जिल्ला कारागारमा क्षमताभन्दा निक्कै बढि कैदी बन्दी रहेको उनले बताए ।

‘त्यहा ८१ जना कैदीहरु छन् । दुःखमा रहेका उनीहरुलाई पनि दसैंको बेलामा भनेर गएर भेटेको हो । त्यहाँ कारागारको अवस्था जीर्ण छ । २५ जना अटाउने ठाउँमा ८१ जना छन् ।’ रिपोर्टर्स नेपालसँगको संवादमा सांसद खतिवडाले भने, ‘त्यहाँ पहाडी एरिया, दुर्गम ठाउँ, त्यहाँ निकै समस्या छ । पानीको समस्या छ । कारागारभित्र लुडो खेल्न बाहेक अरु कुनै सुविधा छैन ।

कारागारहरुलाई हामीले नर्कको केन्द्रजस्तो बनाएका छौं । मैले सिडिओ, डिएसपीसाब लिएर गएर कारागारको निरीक्षण पनि गरेँ । त्यहाँका कैदीहरुको दुःख, गुनासो पनि सुनेँ ।’

सांसद खतिवडाले आफूले निरन्तर कारागार सुधारको पक्षमा काम गरिरहेको बताए । उक्त कारागारमा पानीको समस्या हुँदा पानी ट्याङ्की र पत्रपत्रिकाको व्यवस्था पनि आफ्नो व्यक्तिगत खर्चबाट गरिदिएको उनले बताए ।

‘पत्रिका पनि आउँदैन थियो, अलि पहिलादेखि त्यहाँ मैले कान्तिपुर र नागरिक दैनिक नियमित आउने व्यवस्था मिलाइदिएको छु । त्यहाँ पानीको अभाव थियो, अघिल्लो वर्ष मैले त्यहाँ एक हजार लिटरको पानी ट्याङ्की पनि व्यवस्था गर्दिएको छु,’– सांसद खतिवडाले भने ।

चाडबाडको बेलामा जनप्रतिनिधिले सम्झिएर भेट्न जाँदा कैदी बन्दीहरु पनि खुसी भएको उनको भनाई छ । बडादसैंका अवसरका जिल्लास्थित विभिन्न संघ÷संस्था, सरोकारवाला र जनताहरुसँग भेटघाट गरेर उनीहरुको दुःख र गुनासाहरु सम्बोधन गर्न आफू लागिरहेको समेत सांसद खतिवडाले बताए । सांसद् खतिवडा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्