Logo

बागमती, गण्डकी, लुम्बिनी हुँदै कोशीको भेल संघीय सरकारमा पनि आउने महेश बस्नेतको दाबी (भिडिओसहित)



काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कोशी प्रदेशमा भएको सत्ता समीकरणको बाछिट्टा अन्य प्रदेश हुँदै संघीय सरकारसम्म आइपुग्ने बताएका छन् । आज (बिहीबार) एमाले महालक्ष्मी नगरपालिका ९ नं वडा कमिटी ललितपुरले विजया दशमी, नेपाल संवत्, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमा सम्बोधन गर्दै उनले बागमती, गण्डकी, लुम्बिनी हुँदै कोशी प्रदेको भेल संघीय सरकारसम्म आइपुग्ने बताएका हुन् ।

‘कोशीको त्यो भेल कोशीमा मात्रै सीमित छैन । बागमती, गण्डकी, लुम्बिनी धेरैमा कोशीको भेल आउँछ भन्ने मलाई लाग्छ । कोशीको त्यो भेल संघीय सरकारमा पनि आउँछ,’– उनले भने ।

अहिले नेपालको कम्युनिष्ट आन्दोलन नेकपा (एमाले) केपी ओलीको वरिपरी घुमेको उनको दाबी छ । कोशीमा सत्ता समीकरण परिवर्तन गर्ने सन्दर्भमा ओलीले दह्रो गोल हानेको उनको भनाई छ ।

‘आजको कम्युनिष्ट आन्दोलन, आजको नेकपा (एमाले) आजको मुलुक केपी ओलीको वरिपरी घुमिरहेको छ । अस्ति एउटा वुद्धिजीविले भन्नुभयो– खेलाडीले गोल गर्ने कुरा त सुनेकै हो । तर, दर्शकले गोल गर्ने कुरा सुनेनौं । केपी ओलीमा एउटा अद्भूत क्षमता छ, जो दर्शकदीर्घबाट सुरु हुन्छ भन्नुभयो, कोशीको सन्दर्भमा ।’ उनले भने, ‘कोशीमा केपी ओलीले कांग्रेसका आठ जना सांसद्हरुलाई समेटेर सत्ता गठबन्धनभित्रको अनियमितता, भ्रष्टाचार र कुशासनको विरुद्ध राष्ट्रियता, समृद्धि र विकासका लागि र हिजोको वीरता र वौद्धिकताको हाम्रो पहिचानलाई समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान चलाउनका लागि आज कोशीका कमरेड केपी शर्मा ओलीले दह्रो गोल हान्नुभएको छ ।’

कोशीमा विद्रोह गरेका नेताको पछाडि कांग्रेस र माओवादी लत्रिएको उनको आरोप छ । उनले कांग्रेसले विद्रोहको भावना बुझेर कोर्स करेक्सनका लागि तयार हुनुपर्ने आवश्यकता औंल्याए । माओवादीसँगै रत्तिएर कांग्रेस पछि–पछि लागे कांग्रेस सकिने उनको दाबी छ ।

‘विद्रोह गरेका व्यक्तिको पछाडि कांग्रेस र माओवादी लत्रिएर विश्वासको मत दिन बाध्य भयो । कांग्रेसले त्यो विद्रोहको भावना बुझेर सत्य र करेक्सनको दिशामा गयो भने कांग्रेस बच्न सक्छ ।’ उनले भने, ‘सच्चिएर कोर्स करेक्सनको दिशामा पनि नजाने, माओवादीको पछिपछि रत्तिएर जाने स्थिति बन्यो भने मुलुकको अवस्था त हामी सुधारौंला, बिग्रिन नदिउँला, कांग्रेस चाहिँ हामी कसैले सुधार्न सक्दैनौं । ईन्द्रेका बाउ चन्द्रेले पनि सक्दैन । कांग्रेस यो मुलुकबाट सकिन सक्छ । यत्ति कुरा कांग्रेसले बुझ्न आवश्यक छ ।’ File photo/RN



प्रतिक्रिया दिनुहोस्