Logo

सरकारले जनताका समस्या समाधान गर्न सकेनः कांग्रेस नेता श्रेष्ठ



काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकारप्रति जनताको वितृष्णा बढ्नु स्वभविक भएका बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋण धमलासँग संवाद गर्दै उनले आर्थिक मन्दीका कारण सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्न नसक्दा अहिलेको अवस्था आएको बताएका हुन् ।

‘वर्तमान सरकारप्रति जनताको वितृष्णा आउनु स्वभाविकनै हो । अहिले हामीले जनताको समस्या समाधान गर्न सकिरहेका छैनौं । अहिले आर्थिक मन्दी छ,’– उनले भने ।

आर्थिक मन्दी र सरकारले उचित व्यवस्थापन गर्न नसक्दा दसैंमा गरिबहरुले मिठो मसिनो खान नपाएको उनले बताए । महँगी र कालाबजारी नियन्त्रणमा सरकारले कन्ट्रोल गर्न नसकेको उनको टिप्पणी छ ।

‘दसैं भर्खरै सकियो । कति गरिबहरुको घरमा मिठो खानु त कहाँ हो कहाँ ? चुल्हो पनि नबलेको हामीले सुनेका छौं । महँगी एकदमै बढेको छ, कृतिम अभाव छ, यसलाई कन्ट्रोल गर्न सकिएको छैन । त्यसले गर्दा जनता सरकारप्रति आक्रोशित हुनु स्वभाविक हो,’– उनले भने ।
सरकारमा भएका दल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा देखिएको आक्रोश समाधान गर्न लाग्नुपर्ने उनको सुझाव छ । आर्थिक मन्दीमा पनि एकथरी मान्छेलाई सधैं दसैं रहेको र गरिबहरुको मान्छामा चुल्हो नबलेको उनले बताए ।

‘सरकारमा भएका साथीहरु र प्रधानमन्त्रीले यसलाई कसरी समस्याको समाधान गर्ने हो ? त्यो बारेमा सोच्न पर्छ । अहिले संसारभरनै आर्थिक मन्दी छ । हामी कहाँ मात्रै होईन । एकथरी मान्छेलाई सधैं दसैं छ । जो सम्पन्न मान्छे छन् । धनी छन्, आर्थिक हिसाबले सक्षम छन् ।’ उनले भने, ‘उसलाई सधैं दसैंं छ । अर्थतन्त्र अत्यन्त नाजुक भएकाले एकजोर नयाँ लुगा किनेर लाउने अवस्था नभएका पनि छन् । कतिपयले पेटभरी खान पाएको अवस्था पनि छैन ।’

अहिले गरिबहरुले चाहेर पनि ऋण गरेर दसैं मनाउने अवस्था समेत नबनेको उनको भनाई छ । सरकारले चिनीको समेत व्यवस्थापन गर्न नसकेको भनेर जनताले टिप्पणी गरेको उनले सुनाए । अब सरकार जनताप्रति इमानदार र प्रतिवद्ध हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

‘यो दसैं हुनेखानेले आफ्नै किसिमले मनाए होलान्, गरिबले विचरा ऋण खोजेर पनि पाउने अवस्था छैन । आयो दसैं ढोल बजाएर, गयो दसैं ऋण बोकाएर भन्ने उखान पनि छ ।’ उनले भने, ‘दसैंमा चिनीको पनि व्यवस्था गर्न सकेन सरकारले भनेर कमेन्टहरु आएको छ । सरकार चुकेको छ, कृतिम अभाव पनि गरिएको छ । जनताको इक्षा र आकांक्षा पुरा गर्न सरकार प्रतिवद्ध र इमानदार हुन पर्छ ।’

सरकारप्रति कांग्रेसको धेरै विमत्ति रहेपनि आफूहरु सरकार ढाल्ने पक्षमा नरहेको उनले बताए । यही सरकारलाई अगाडि बढाएर जनताप्रति उत्तरदायी बनाउन आफूहरु लागिपर्ने उनले बताए । अहिलेको सरकार पाँचै वर्ष जाने र प्रचण्डले सहमति अनुसार आफ्नो कार्यकाल सकिएपछि आफैं राजीनामा दिने उनले बताए ।

‘अहिले कांग्रेस सरकार ढाल्ने पक्षमा छैन । ठूलो पार्टीको नेतृत्वमा सरकार हुन पथ्यो । हामीले पहिला नेतृत्व गरेको हुनाले अब जुन गठबन्धन छ, त्यसलाई नटुटाई अगाडि बढ्न पर्छ ।’ उनले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ । पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री हुने भनेको होईन । गठबन्धन चाहीँ पाँचै वर्ष जान्छ ।’



प्रतिक्रिया दिनुहोस्