Logo

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति



काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । हिजो (बुधबार) बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम संसदले गरेको निर्णयको अपमान गरी गैरजिम्मेवार अभिव्यक्ति दिएको एमालेको ठहर छ । मुख्यमन्त्री जम्मकट्टेलको उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल् पुर्याउन मलजल गरेको एमालेले निश्कर्ष निकालेको एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

‘उहाँ (मुख्यमन्त्री) को अभिव्यक्ति संघीयता विरोधी छ । पदमा रहेको व्यक्तिले यसरी गैरजिम्मेवार अभिव्यक्ति दिन हुँदैन । हामीले उहाँको अभिव्यक्तिको खण्डन गरेका छौं,’– थपलियाले रिपोर्टर्स नेपालसँग भने ।

मुख्यमन्त्री जम्मकट्टेलले केही समयअघि भक्तपुरका आयोजित एक कार्यक्रममा प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त भएको अभिव्यक्ति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्