Logo

‘यो पटक नेपाल दुनियाँमा राम्रोसँग चिनियो’



काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो विदेश भ्रमण सफल भएको बताएका छन् । आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि भएको भारत, इटाली, अमेरिका र चीनको भ्रमण सन्तुलित रहेको उनले बताए ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो विदेश भ्रमणले विश्वले नेपाललाई चिनेको बताएका हुन् ।

‘मैले भाुरत भ्रमण, अमेरिका, चीन भ्रमणभन्दा पनि पहिला देशभित्रै जनताको पक्षमा सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, अर्थतन्त्रमा परेको दवाबलाई सहजीकरण गर्ने पक्षमा केही गम्भीर पहल गरेपछि नै म भारत भ्रमणमा गएको कुरा साँचो भइहाल्यो । त्यसपछि इटाली, अमेरिकाको भयो । राष्ट्रसंघको महासभामा सहभागिताको कुरा भयो ।’ उनले भने, ‘चीन भ्रमण भयो । यो सबैले अन्तराष्ट्रिय क्षेत्रमा, मैले संसद्मा पनि बोलेको छु । यो पटक नेपाल राम्रोसँग देखियो पनि दुनियाँमा । राम्रोसँग चिनियो पनि । बुभिने गरी दुनियाँले यसलाई हेर्यो ।’

जटिल परिस्थितिमा पनि प्रधानमन्त्रीको हैसियतमा भारत, अमेरिका र चीन भ्रमण सन्तुलित ढंगले सम्पन्न गर्न सकेकोमा आफूलाई गर्व रहेको उनले बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको उनको दाबी छ ।

महासचिव गुटेरेसले नेपाल र नेपाली जनताको पक्षमा, नेपालको शान्ति प्रक्रियाको पक्षमा, मौसम परिवर्तनको प्रभावबारेमा र नेपालको आर्थिक विकास र समृद्धिको बारेमा सकारात्मक र उत्साहवद्र्धक अभिव्यक्ति दिएको उनको भनाई छ ।

यो विषय प्रधानमन्त्रीका लागिमात्रै नभएर सम्पूर्ण जनताका लागि गर्वको विषय भएको उनले बताए । आफ्नो विदेश भ्रमण र महासचिव गुटेरेसको नेपाल भ्रमणबाट आफू पूर्ण सन्तुष्ट रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्