Logo

प्रधानमन्त्री प्रचण्डको प्रश्नः फागनु १ को विदा भर्खरको कुरा हो, त्यसअघि ओलीलाई शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन केले रोक्यो ?



काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको निर्णयमा विगतमा जनयुद्ध दिवस मनाइएको दाबी गरेका छन् । जनयुद्धकै कारण देशमा शान्ति प्रक्रिया, शान्ति सम्झौता र गणतन्त्र आएको र शान्ति सम्झौता महत्वपूर्ण हो भने जनयुद्ध सुरु भएको दिन पनि महत्वपूर्ण हो भनेर फागुन १ गतेलाई दिवसको रुपमा मनाउने गरिएको उनले बताए । विगतमा पनि ओलीले जनयुद्ध दिवस मनाउने निर्णयमा हस्ताक्षर गरेपनि उक्त दिन विभिन्न बहाना गरेर आफू नआई निहु् खोज्ने काम गरेको प्रचण्डको भनाई छ ।

‘पहिला पनि हामी एउटै पार्टी हुँदा पनि फागुन १ गतेलाई दिवसको रुपमा मनाउने गरिएको थियो । त्यतिबेला पार्टी कार्यालय धुम्बराहीमा थियो । एमालेका नेतासमेत बसेर फागुन १ गते उक्त दिवस मनाइने गरिएकै थियो । यो कुरा सहमति भएरै भएको थियो । पहिला पनि जनयुद्ध दिवस मनाइन्थ्यो । उहाँ चाहीँ विभिन्न कारण, बहाना बनाएर त्यो दिन उपस्थित हुनुहुन्थेन । अरु नेता सबैजसो उपस्थित भएर त्यो दिवस मनाउने गरिएकै थियो,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

आफूहरुले जनयुद्धकै कारण नेपाल शान्ति प्रक्रियामा आएकाले र त्यसकै जगमा गणतन्त्र आएकाले त्यो दिन पनि ऐतिहासिक दिन हो भन्न खोजेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । पार्टी एकीकरण भएको बेलामा ओलीले जनयुद्ध दिवस स्वीकारको कुरा दुनियाँलाई थाहा भएको उनले बताए ।

‘जनयुद्ध नभएको भए शान्ति प्रक्रिया र शान्ति सम्झौता किन हुन्थ्यो ? शान्ति प्रक्रिया र शान्ति सम्झौता महत्वपूर्ण हो भने त्यो पनि आफ्नो ठाउँमा महत्वपूर्ण हो भनेर नै एउटै पार्टी हुँदा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने नै गरेको थियो । त्यो केपीजीलाई राम्रोसँग थाहा छ, दुनियाँलाई थाहा छ,’– उनले भने ।

ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा प्रचण्डका कारण शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन सकिएन भन्ने अभिव्यक्ति दिएका बारेमा बोल्दै प्रधानमन्त्री यसभन्दा अघि शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन ओलीलाई के ले रोकेको थियो ? भन्दै उनले प्रश्नसमेत गरे ।

‘उहाँले अहिले भन्नुहुन्छ नि– हिंसा दिवस, यसो गर्यौ, त्यसो गर्यो, शान्ति प्रक्रिया टुंग्याउन गाह्रो भयो भनेर राष्ट्रसंघको महासचिवसँग भन्नुभयो भनेर बाहिर आइराखेको छ । मेरो उहाँलाई प्रश्न के छ भने– यो त अस्ति भर्खको कुरा हो । गएको फागुन १ गते न भयो । त्यो भन्दाअघि यो शान्ति प्रक्रिया सम्बन्धी बिल टुंग्याउन तपाईलाई के ले रोक्यो ?’ प्रश्न गर्दै उनले भने, ‘त्यो बेला त दिवस मनाउने घोषणा गरिएको थिएन क्याविनृेटबाट । राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको थिएन । त्यो बेलामा पनि त तपाईँले निहु खोजी राख्नु त भएको थियो ।’

फागुन १ लाई हिंसा दिवस भन्नु ओलीको कुतर्क भएको उनले बताए । ओलीले विभिन्न बहानामा शान्ति प्रक्रियालाई डिरेल गर्न खोजेको प्रधानमन्त्री प्रचण्डको आरोप छ । आफू प्रधानमन्त्री हुँदा र पद पाउँदा ओलीले जनयुद्ध महान भनेको बताउँदै प्रचण्डले ओलीलाई एक पटक विगत फर्किएर हेर्नसमेत आग्रह गरे ।

‘त्यसकारण यो तपाईँ (ओली) को तर्क तथ्यको आँखामा हेर्दा कुर्तक हुन गयो । तपाईँले विभिन्न बहानामा यो प्रक्रियालाई डिरेल गर्ने कोशिस गर्नुभएको छ । तपाईँभित्र विक्षिप्त मानसिकता भएको छ । तपाईले बरु आफैंभित्र एकचोटी फर्केर हेर्दा राम्रो । जतिबेला पार्टी एकता भयो, तपाईले भन्नुभयो जनयुद्ध महान । सही गर्नुभएको छ तपाईँले ।’ उनले भने, ‘जनयुद्धकै कारण नेपालमा गणतन्त्र आयो, संघीयता भयो, धर्मनिरपेक्ष भयो भन्नेमा पनि तपाईँले सही नै गर्नुभएको छ । म देखाउन पर्छ भनेपनि हजार चोटी देखाउन तयार छु, तपाईले सही गर्नुभएको छ । जनयुद्धकै कारणले देशमा नयाँ परिस्थिति बन्यो भनेर तपाईँले स्वीकार्नु भएको छ ।’

आफू प्रधानमन्त्री हुन पाउँदा जनयुद्ध महान हुने, सबै परिवर्तन जनयुद्धकै कारण भएको भन्ने र आफू पद नपाउने स्थितिमा चाहीँ हिंसा दिवस भनेर घृणा फैलाउने काम नगर्न उनले ओलीलाई आग्रह गरे । ओलीले आफूले स्वीकार गरिसकेको कुरामा पनि दिउँसै रात पार्ने गरी भ्रम फैलाउने काम गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई माओवादीसँग पार्टी एकीकरण गर्दा गरेको हस्ताक्षरको दस्तावेज हेर्न समेत सुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्