Logo

अहिलेको सरकारबाट शान्ति सुरक्षा र अमन चयनको अपेक्षा गर्न सकिँदैनः विष्णु पौडेल



काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् ।

‘हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई कानुन बमोजिम कारबाही गर्न सरकार उदासिन छ,’– उनले भने ।

कानुनले दण्डित गरेका अपराधी, ज्यानमारा र हत्याराहरुलाई सरकारको सिफारिसमा उन्मुक्ति दिइएको भन्दै उनले आपत्ति जनाए । नवौं संविधान दिवसको दिन आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको विषयतर्फ केन्द्रीत हुँदै उनले गम्भीर विषयमा राष्ट्रपतिले एक शब्द पनि नसोधी आममाफीको निर्णय अनुमोदन गरिदिएको बताए । सरकारले रिहा गरेका अपराधीहरुले अहिले पुनः वितण्ड मच्चाइरहेको उनको भनाई छ । आफूले रिहा गरेका अपराधीहरु पुनः अपराध कमर्मामा लागिरहँदा पनि सरकारले नचेतेको र लाज नमानेको उनले टिप्पणी गरे । यस्तो सरकारबाट शान्ति सुरक्षा र अमन चयनको अपेक्षा गर्न नसकिने उनको भनाई छ ।

‘सरकारले रिहा गरेका अपराधीहरुले रिहा भएको भोलिपल्टदेखि फेरि मान्छे मार्न हिँडेका छन् । फेरि हत्या गर्न हिँडेका छन्, बालात्कार गर्न हिँडेका छन्, सामुहिक हत्याको योजना बनाएर हिँडिरहेका छन् । तर, सरकारलाई लाज छैन । अपराधीहरुलाई छाड्ने र बाहिर निस्किएको अपराधीहरुले अपराध कर्म बढाउने सरकार तमासा हेरेर बसेको छ । यस्तो सरकारबाट शान्ति सुरक्षा, अमन चयनको हामीले कुनै अपेक्षा गर्न सक्दैनौं । अराजकताले सीमा नाघेको छ,’– उनले भने । Photo By: Mukunda Kalikote/ RN



प्रतिक्रिया दिनुहोस्