Logo

रिगलको आममाफीको निर्णय बदर



काठमाडौं, १६ कात्तिक । रिगल डन भनिने योगराज ढकालको आममाफी बदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भएको कैद सजाय मिनाहको निर्णय बदर गरेको हो ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोग पुष्टि भई जेल जीवन बिताइरहेका रिगलले गत संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । उनको आमाफीविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिईन् । उनको रिट निवेदनमा गत मंगलबारदेखि भएको सुनुवाइपछि आज निर्णय सुनाउँदै रिगललाई तत्काल पक्राउ गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

सर्वोच्चका आदेशको जानकारी दिँदै वरिष्ठ अधिवक्ता एवं मानवअधिकारकर्मी दिनेश त्रिपाठीले भने, ‘सम्मानित अदालतको पूर्ण इजलासले आज राष्ट्रपतिबाट रिगल भनिने योगराज ढकाललाई माफी दिइएको थियो । करिब ६० प्रतिशत कैद कट्टा गर्ने जुन निर्णय भएको थियो, त्यसलाई आज अदालतले बदर गर्दिएको छ । उत्प्रेषणको आदेशद्वारा बदर भएको छ । सर्वोच्च अदालतले ११ बर्ष ११ महिना ५ दिन सजाय असुल उपर गर्न बाँकी छ, निजलाई तत्काल पक्राउ गर्नु र सजाय असुल उपर गर्नु भनेर परमादेश समेत जारी गरेको छ ।’



प्रतिक्रिया दिनुहोस्