Logo

भूकम्प पीडितको उद्दारमा जुट्न वाईसिएल कर्णाली प्रदेश कमिटीलाई अध्यक्ष शेर्पालीको निर्देशन



काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले भूकम्प पीडितहरुको आपतकालीन उद्धार, खोजी कार्य र पुनर्निर्माणमा जुट्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।

आज (शनिबार) विज्ञप्ति जारी गर्दै शेर्पालीले कर्णाली प्रदेशका मतहतका कमिटीलाई आपतकालीन उद्दार,खोजी र पुनर्निर्माणमा जुट्न निर्देशन दिएका हुन् ।

साथै, उनले उक्त कार्यका लागि केन्द्रीय कमिटीबाट उपाध्यक्ष गोगन बहादुर मल्ल, कर्णाली प्रदेश इन्चार्ज गणेश शाही, लुम्बिनी प्रदेश ईन्चार्ज मिरा चदारा, कर्णाली प्रदेशमा कार्यरत केन्द्रीय पदाधिकारीहरू, कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारी लगायतको टोली परिचालित भइरहेको पनि बताएका छन् ।

भुकम्पबाट जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लाहरुमा भएको मानवीय तथा भौतिक क्षतिले वाईसीएल नेपाल अत्यन्तै मर्माहित भएको पनि अध्यक्ष शेर्पालीले बताएका छन् ।

साथै, वाईसिएल नेपालले घाईतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितहरुलाई पुनर्स्थापनाको व्यवस्था गर्न, खाद्यान्न लगायतका आवश्यक बन्दोवस्तीका सामाग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्