काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा सदस्य राजीवविक्रम शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भूकम्पपछिको उद्धार, उपचार र पुनर्स्थापना प्रभावकारी भएको बताएका छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भूकम्पपछिको उद्धारमा सरकारले प्रभावकारी काम गरेको बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा उद्धारको प्रभावकारिता एकदमै उदाहरणीय भएको छ । साथै, रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, जनार्दन शर्मा र शक्ति बस्नेतलाई म हृदयदेखिनै धन्यवाद व्यक्त गर्न चाहन्छु,’– उनले भने ।
आफ्नो राजनीतिक जीवनदेखिनै यस्ता प्रकारका दैवी प्रकोपमा आफू सक्रियाताको साथ उद्धार र जनताको सेवामा लागिरहेको उनले बताए । भूकम्पपछिको उद्धार, स्थानान्तरण र उपचारमा सबै एकजुट भएको उनको दाबी छ ।
सरकार, राजनीतिक दलदेखि कर्मचारीहरुले समेत भूकम्पपछिको उद्धार, स्थानान्तरण र उपचारमा महत्वपूर्ण सहयोग गरेको उनले बताए । प्रधानमन्त्रीको लिडरसिपका कारण उद्धारमा कुनै कसुर बाँकी नरहेको उनले बताए ।