काठमाडौं, १९ कात्तिक । आज (आईतबार) विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णय सार्वजनिक भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि बसेको मन्त्रिपरिषद्को आजको बैठकले मृतकका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै, घाईतेहरुको निःशुल्क उपचार गर्ने, भूकम्प पीडितहरुको अस्थायी बसोबास, खाद्यन्न तथा सुरक्षाको प्रबन्ध मिलाउने निर्णय गरेको छ । साथै, खोज, उद्धार र राहत वितरणमा एकद्वार प्रणाली अबलम्बन गरिने पनि निर्णय भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरुः
- संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा ९जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने ।
- उक्त भूकम्पमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
- खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने । साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने ।
- सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने ।
- मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने ।
- छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने ।
- भूकम्पपश्चात खोज, उद्धार, राहत र घाइतेको उपचारमा खटिने सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवं संघसंस्थालाई विशेष धन्यवाद दिंदै जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी यसलाई निरन्तरता दिन आग्रह गर्ने ।
- प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिंदै सहयोगका लागि अपिल गर्ने ।
- भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने ।
- क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने ।
- जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने ।
- राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने ।
- सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माण कार्य अघि बढाउने । पुनःनिर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने ।
- भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने ।
- भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने ।
- राष्ट्रिय विपद्को यस घडीमा धैर्यधारण गर्न सबैलाई आग्रह गर्ने ।
- सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने ।
- विपद् प्रभावितहरुका लागि आवश्यक पर्नसक्ने राहत तथा उद्धार सामग्रीहरुको पूर्वतयारी स्वरुप मौज्दात राख्ने ।