Logo

भूमि आयोगका उपाध्यक्ष खड्का भन्छन्, ‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिलाएरै छाड्छु’



काठमाडौं, २० कात्तिक । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले आफ्नै कार्यकालमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा र लालपुर्जा दिलाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रिपोर्टर्स संवाद कार्यक्रममा पत्रकार मोहन बुढाक्षेत्रीसँग संवाद गर्दै उनले आफू जसको जोत, उसको पोत भन्ने नारासहित किसान आन्दोलन बाट आएको बताए । आफू किसान आन्दोलनबाट आएको, किसानहरुको समस्यालाई नजिकबाट नियालेको बताउँदै उनले आफ्नै कार्यकालमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिलाउने बताएका हुन् ।

‘हामीले भनिरहेका छौं, विगतको आयोगजस्तो मेयर हारेपछि जागिर खान आउने यो आयोग होईन । म त्यो ढंगले आएको पनि होईन, किसान आन्दोलनबाट जसको जोत उसको पोतको नारा लगाएर आएको मान्छे हुँ । त्यस कारण मेरो दिल दिमागमा एउटा कुरा छ कि– म किसान आन्दोलनको नेता,मैले लाउन पर्ने नारा, जमिन कस्को ? जोत्नेको । यदि म हुँदा जमिन वितरण गर्न, लालपुर्जा वितरण गर्न सकिएन भने कसले गर्छ ?’ प्रश्न गर्दै उनले भने, ‘मैले गर्न सकिँन भने भोलि म यो आयोग छोडेर जाँदा फेरी जनताकोृ बीचमा जसको जोत, उसको पोतको नारा लगाउँदा जनताले के भन्छन् ? हिजो त आफैं जमिन बाँड्ने आयोगमा हुँदा के गरिस् ? त्यो प्रश्नको जवाफ मैले दिनुपर्ने हुन्छ । त्यस कारणले पनि देशव्यापी रुपमा मैले क्रियाशीलता आपनाएको छु् । यो आयोगमा म उपाध्यक्ष रहेकै कार्यकालमा बढिभन्दा बढि काम होस् भन्ने छ ।’

देशभरका सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय १७ वटा स्थानीय तहमा कार्य सम्झौतामा हस्ताक्षर भएको उनले बताए । सात सय १२ स्थानीय तहमा कम्तिमा एक पटक लगत संकलनका लागि ३५ दिने सूचना प्रकाशन भइसकेको उनले बताए । देशभर १३ लाख ५० हजारभन्दा धेरै भूमिहीन दलित, सुकम्बासी, अव्यवस्थित बसोबासीहरुले निवेदन दिएका उनले बताए ।



प्रतिक्रिया दिनुहोस्