काठमाडौं, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी र कम्युटर अधिकृत कमोद भण्डारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७१।७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट “ग” का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनबेचका क्रममा बिभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको पुष्टि भएको अख्तियारले बताएको छ । उक्त अवधिमा जग्गा किनबेचको क्रममा एकै रजिष्ट्रेशन नम्बर राखी लिखतहरु पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको अख्तियारले बताएको छ ।
तत्कालीन मालपोत अधिकृत हरिणारायण विरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ राजश्व हिनामिना गरेको आरोप छ । त्यसैगरी अर्का मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ ।