काठमाडौं, २२ कात्तिक । जिल्ला अदालत रौतहटले इटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद आफ्ताब आलमको मुद्दामा १५ दिनभित्र लिखित वहस नोट पेश गर्न आदेश दिएको छ ।
उक्त मुद्दामा सुनुवाइ जारी रहेकोमा हिजो र आज सरकारी वकिल र आलम पक्षका वकिलहरुले वहस गरेका थिए । सुनुवाइपछि अदालतले सरकारी वकिलको कार्यालय र आलमका वकिलहरुलाई मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी १५ दिनभित्र वहस नोट पेश गर्न आदेश दिएको हो ।
संविधान सभा निर्वाचन–२०६४ का उम्मेदवार रहेका आलमले जसरी पनि चुनाव जित्नका लागि भारतबाट बम बनाउने मानिस बोलाएका थिए । त्रास देखाएर बुथ कब्जामा लिने र चुनाव जित्ने रणनीतिमा आलम रहेका थिए । बम बनाउने क्रममा विस्पोट हुँदा घाईते भएकाहरुलाई आलमले पोल खुल्ने डरले आफूले सञ्चालन गरेको इँटाभट्टामा हालेर जिउँदै जलाएका थिए ।