Logo

तिहारलक्षित सुरक्षा योजनाः ड्रोन र सादा पोशाकका प्रहरीमार्फत निगरानी (भिडिओसहित)



काठमाडौं, २४ कात्तिक । नेपाल प्रहरीले चावपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रहेको बताएको छ । गत असोज २१ गतेदेखि प्रहरीले सुरु गरेको चाडपर्व लक्षित सुरक्षा योजना छठसम्म जारी रहने बताइएको छ । चावपर्वलाई लक्षित गरेर उपत्यकामा सात हजार छ सयभन्दा बढि प्रहरी परिचालन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले बताए ।

एसएसपी मैनालीले धेरै भीडभाड हुने स्थानमा आपराधिक क्रियाकलापलाई ड्रोनमार्फत र सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी गरिएको बताए । ‘तिहारको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ट्राफिक प्रहरीसमेत गरेर एकीकृत सुरक्षा योजना बडादसैंदेखि नै लागू गरिएको छ ।’ एसएसपी मैनालीले भने, ‘सात हजार छ सयभन्दा बढि प्रहरी कर्मचारीहरु फिल्मै हुनुहुन्छ । यो सँगै विधि र प्रविधिबाट हामीले सुरक्षा योजनाहरु पनि बनाएका छौं ।’

उनले प्रहरीले चाडवाड लक्षित सुरक्षा अन्तर्गत क्यामेरा, तालिम प्राप्त कुकुर र अन्य प्रविधिको समेत प्रयोग गरेको बताए । यिनै सुरक्षा योजना अपनाउँदा दसैंको समयमा यसपाली सवारी दुर्घटनादेखि लिएर अन्य आपराधिक क्रियाकलापमा कमी आएको उनको दाबी छ । तिहार, नेपाल संवत् र छठपर्व लगायतका चाडको सुरक्षालाई लक्षित गरेर व्यापक रुपमा सुरक्षा व्यवस्था कडा गरिएको उनले बताए ।

तीब्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना नियन्त्रणका लागि ¥याडर गनसहितको सुरक्षा व्यवस्था गरिएको पनि उनले बताए । तिहारको समयमा पटका लगायतको विष्पोटक पदार्थ, जुवा, तास लागयतका क्रियाकलापलाई प्रहरीले विशेष निगरानीमा राखेको उनको भनाई छ । साथै, सामाजिक सञ्जाललाई उचित रुपमा प्रयोग गर्नसमेत उनले आग्रह गरे ।

पटका पड्काउँदा तीन वर्षदेखि १० वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था रहेको बताउँदै उनले यस्ता प्रकारका कार्य नगर्न र नगराउन आग्रह गरे । यसपालीको तिहारमा पनि प्रहरीले विभिन्न नाकाबाट भारीमात्रामा विष्पोटक पदार्थ बरामद गरेको उनले बताए ।

तस्विर, भिडिओः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्