Logo

प्रथम उदयपुर हुकेहुका महोत्सव तथा बृहत थारू सांस्कृतिक कार्यक्रम आज



काठमाडौं, २५ कार्तिक । प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत थारू सांस्कृतिक कार्यक्रम आज हुने भएको छ । उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव–२०८० तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी आज हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा हुन लागेको सो कार्यक्रम चौदण्डिगढी नगरपालिका वडा नं.९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ ।

वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईने उक्त महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमसः ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मूल्यांकन पाँच आधारमा गरिनेछ । हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन, थारू भेषभुषा र पहिरणको आधारमा प्रतियोगिताको मूल्याङ्कन गरिने बताइएको छ ।

त्यस्तै, प्रतियोगितामा सहभागी व्यक्ति वा समूह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक समान ल्याउनुपर्ने बताइएको छ । प्रत्येक टोली वा समूहमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागी हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई पाँच मिनेटको समय तोकिएको छ । थारू समुदायमा परापूर्वकालदेखि तिहार (शुकराईत) मा लक्ष्मी पुजाको दिन धुमधामका साथ मनाउदै आएको हुकेहुका अहिले लोप हुन लागेको अवस्थामा संस्कृतिको संरक्षण गर्ने उद्देश्यकले महोत्सव आयोजना गरिएको नेपाल थारू संघ जिल्ला कार्य समिति, उदयपुरको अध्यक्ष तथा कार्यक्रमका संयोजक रामश्रेष्ठ चौधरीले बताए । Photo By: Dinesh Chaudhary/RN



प्रतिक्रिया दिनुहोस्