Logo

प्रधानमन्त्री प्रचण्डका सल्लाहकार भन्छन्, ‘टिकटक बन्द गर्ने निर्णयलाई ९५ प्रतिशत जनताले समर्थन गरेका छन्’



काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रशासनिक सल्लाहकार रामदीप आचार्यले टिकटक बन्द गर्ने सरकारको निर्णयमा ९५ प्रतिशत जनताको समर्थन पाइएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ९५ प्रतिशत जनताले विकृति बढेको थियो, ठीक भयो भनिरहेको बताएका हुन् ।

‘सही र गलतको फैसला जनअभिमतबाट हुने हो । हिजो एउटा चलेको अनलाईनले समाचार लेख्यो– यो निर्णयको सर्वत्र विरोध भएको छ । त्यसको तल कमेन्टमा ९५ प्रतिशतले सरकारले ठीक गर्यो भनेका छन् । जनताले धेरै विकृति थियो, ठीक भयो भनेका छन्,’– उनले भने ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा यो विषय राष्ट्रिय बहसको रुपमा सतहमा आएको उनले बताए । बहसको ढोका बन्द भइनसकेको बताउँदै उनले सामाजिक सञ्जाललाई कसरी नियमन गर्ने भन्ने बारेमा अब सरोकारवाला निकायबीच बहस हुनु उपयुक्त हुने उनले बताए ।

‘यसले आजको राष्ट्रिय वहसलाई सतहमा ल्याइदिएको छ । लुकेको बहस, गर्नुपर्ने बहस मुखरित भएर आयो । सरकारले ठीक गर्यो भन्नु पर्यो नि त । अब बरु छलफल गरौं । टिकटकलेमात्रै समस्या पैदा गरेको र अरु सबै चोखा त होईनन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्