काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको पक्षमा राम्रो बाहेक केही नगर्ने गठबन्धन दल र सरकारको संकल्प रहेको बताएका छन् । आबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आबुखैरेनी अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्र र जनताको पक्षमा काम गरिरहेको बताएका हुन् ।
उनले आफू कति दिन प्रधानमन्त्री हुनेभन्दा पनि राष्ट्र र जनताको पक्षमा राम्रा बाहेक केही पनि काम नगर्ने संकल्पका साथ काम गरिरहेको बताए । आफ्ना न्यायाधीश जनता भएको बताउँदै उनले राम्रो गर्दागर्दै पनि सरकारमा टिक्न नदिए जनताको माझ जाने बताए ।
‘यो पटक गठबन्धनले र सरकारले राष्ट्रको पक्षमा र जनताको पक्षमा राम्रो गर्ने, राम्रो बाहेक केही पनि नगर्ने र राम्रो गर्दागर्दै छोड्नु परेछ भने नेपाली जनता न्यायधीश छन्, जनताको घरदैलोमा जाने संकल्प मैले प्रधानमन्त्री बनेको दिनमा गरेको हो ।’ उनले भने, ‘म १५ दिनको प्रधानमन्त्री हुने हो कि १ महिनाको मलाई त्यो सँग मतलब छैन । म यो पटक राष्ट्र र जनताको पक्षमा काम गर्छु । मलाई अब केही लिनु दिनु छैन ।’
सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा र भ्रष्टाचारविरुद्ध काम गरिरहेको बताउँदै उनले सरकारले अझ बढि राम्रा काम गर्ने बताए । उनले भ्रष्ट र बेइमानहरुलाई सरकारले ठीक पार्ने समेत बताए ।
‘अझ राम्रो काम गर्ने विचार छ मेरो । भ्रष्ट र बेइमानहरुलाई अझ बढि ठीक गर्ने विचार छ मेरो । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा गर्न खोज्दाखोज्दै कोही आएछन् भने जनता त छदैछन्,’– उनले भने ।