Logo

विपिनका आमाबाबुले परराष्ट्र मन्त्री साउदसँग भने, ‘छोराको सकुशल रिहाइको पहल गरिदिनुस्’



काठमाडौं, २ कात्तिक । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमाबुबाले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका छन् । परराष्ट्रमन्त्री साउदसँगको भेटमा उनीहरुले विपिनलाई जसरी पनि सकुशल नेपाल फिर्ता ल्याउन आग्रह गरेका छन् । विपिनका बुबा महानन्द र आमा पद्माले परराष्ट्र मन्त्री साउदलाई आज (शनिबार) महेन्द्र नगरमा भेटेर सकुशल नेपाल फिर्ता ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए । “कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उनले भने ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कृषि संकायमा अध्यरत विपिन ‘लर्न एण्ड अर्न’ प्रोगामअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।

विपिनलाई विद्रोही समूह हमासले नियन्त्रणमा लिएदेखि उनको अवस्था अज्ञात रहेको छ । उनको रिहाइका लागि सरकारले हमाससँग सम्बन्ध भएका अन्य मित्र राष्ट्रहरुसँग समेत पहल गरेको थियो । विपिनको रिहाइका सन्दर्भमा अहिलेसम्म सरकारका सबै प्रयासहरु असफल भइरहेको छ ।

विपिनका आफन्तले यसअघि पनि जिल्ला प्रशासन कार्यालयमार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै खोजी कार्यका लागि आग्रह गरेका थिए । विगत ४३ दिनदेखि विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिनको अवस्था अज्ञात रहेको छ ।



प्रतिक्रिया दिनुहोस्