काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जलवायु परिवर्तनको असर देखा परिरहेको बताएका छन् । आज (मंगलबार) नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप—२८) मा नेपालले उठाउने विषयबारे छलफल गर्न वन मन्त्रालयले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने, पहाडमा पहिरो जाने र तराईमा बाढी आउनेजस्ता समस्याहरु देखिइरहेको बताए ।
जलवायु परिवर्तनका असरका बारेमा नेपालले कोप–२८ सम्मेलनमा सशक्त आवाज उठाउने उनको दाबी छ । पर्यापरण रक्षाका लागि नेपालले गरेको लगानीको आधारमा पुरस्कार पाउन पर्ने ठाउँमा विकशित मुलुकहरुले कार्बन उत्षर्जन गर्दा नेपालले गर्दै नगरेको गल्तीको सजाय भोग्न परेको उनको भनाई छ । कोप–२८ मा नेपालले विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिवद्धता पालना गराउनका लागि सशक्त पैरवी गर्ने उनको भनाई छ ।
‘कोप–२८ बैठकमा हामीले यस पटक नेपाल याचना होईन, सशक्त दाबीका साथ प्रस्तुत हुनेछ । तसर्थ, सरकारी एवं गैरसरकारी क्षेत्रबाट प्रस्तुत हुने डकुमेन्टहरु सोही बमोजिम तयार पार्न म अपिल गर्न चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।
अहिले जलवायु परिवर्तनमा भइरहेको लगानी ऋण केन्द्रीत भएको विषयलाई पनि नेपालले कोप–२८ मा विशेष महत्वका साथ उठाउने उनको दाबी छ । जलवायु न्यायस्वरुप नेपालले पाउन पर्ने अनुदान अहिले व्यक्ति वा कुनै संस्थाको हातमा पुग्ने गरेको उनको भनाई छ । विश्वका प्रमुख कार्वन उत्र्षजन गर्ने राष्ट्रहरुलाई कार्बन उत्षर्जन घटाउन दवाब दिइने पनि उनले बताए ।
साथै, नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरुसँग छलफल गरिने उनको भनाई छ । अहिले जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणकेन्द्रित भएको विषयप्रति गम्भीर हुँदै यसलाई बदल्दै अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धनमा प्रदान गरिने वित्त अनुदान जलवायु न्यायको रुपमा पाउनुपर्ने सुनिश्चितताको लागि पैरवी र दाबी गर्ने उनले बताए ।