Logo

वर्तमान सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पर्यावरणका मुद्दाप्रति निकै संवेदनशील रहेको बताएका छन् । आज (शनिबार) नेकपा (माओवादी केन्द्र) का नेता विशाल खड्काद्वारा लिखित पुस्तक ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरु पर्यावरण र भावी पुस्ताप्रति संवेदनशील रहेको बताएका हुन् ।

‘हामी मार्क्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ । कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ। हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्,’– प्रधानमन्त्री प्रचण्डले भने ।

खड्काद्वारा लिखित उक्त पुस्तक नेपाली मार्क्सवादी र माओवादी आन्दोलनमा लागेका युवा तथा अग्रपंक्तिका नेताले पढ्नैपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

उनले विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिम पुर्याएको बताए । सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरुले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपुरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरेपनि उक्त कोषमा वाचा गरेको रकम उपलब्ध नगराएको प्रधानमन्त्री प्रचण्डले बताए । कार्बन उत्सर्जन गर्ने विकसित देशहरुले सन् २०२० सम्म एक सय विलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरुले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

विकसित मुलुकहरुको मुलुकहरुको ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई नकार्न नसकिने प्रधानमन्त्री प्रचण्डले बताए । लेखकले अविकसित र अल्पविकासशील मुलुकहरुले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्