काठमाडौं, ११ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५÷१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा नपर्ने दाबी गरे ।
हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रभन्दा राम्रो व्यवस्था संसारमा अरु कुनै हुन नसक्ने बताए । उनले नेपालका नेताहरुले गणतन्त्रलाई दलतन्त्र, परिवारतन्त्र र भ्रष्टाचारतन्त्रको रुपमा बुझेको बताए ।
‘राजा जनताले खोजेका होईनन् । राजावादी र जनता दुईटै एउटै कुरा होईन, फरक–फरक हो । जनता भनेको नेपालमा पौने तीन करोड छन् । राजावादी भनेका मुट्ठीभर ५÷१० हजार होलान् । दुनियाँमा कहीपनि गणतन्त्र फेल छैन । श्रीलङ्कामा नेताहरुमाथि प्रहार भयो । राष्ट्रपतिले हेलिकप्टरबाट भाग्ने स्थिति आयो । गणतन्त्र फेल भएको होईन । त्यहाँ त गणतन्त्रनै छ ।’ उनले भने, ‘नेपालमा व्यवस्था फेल भएको छैन । गणतन्त्रभन्दा राम्रो व्यवस्था हुनैसक्दैन, लोकतन्त्रभन्दा राम्रो व्यवस्था हुनैसक्दैन, जनताको दृष्टिकोणमा । तर, अहिले फेल भएको नेता हो । नेताले गणतन्त्रलाई दलतन्त्रको रुपमा बुझ्यो, परिवारतन्त्र, भ्रष्टाचारतन्त्रको रुपमा बुझ्यो ।’
नेताहरुले गणतन्त्रलाई बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खाएजस्तै छोराछोरी, भाईभतिजालाई व्यवस्थाको डिभिडेन्ट खुवाउन खोज्दा सबैतिर भ्रष्टाचार बढेको उनको दाबी छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले राजनीतिबाट सन्यास लिएको खण्डमा अहिले व्यवस्थामा देखिएको समस्या सबै ठीक हुने उनको दाबी छ । अहिले व्यवस्था संकटमा नभएर नेताहरु संकटमा रहेको उनले बताए । राजनीतिक दलका नेता र दलप्रतिको घृणालाई गणतन्त्रप्रतिको घृणाको रुपमा बुझ्न नहुने उनले बताए ।
‘जसरी बैंकरले शेयर लगानी गरेर डिभिडेन्ट खान्छ, त्यस्तै नेताले देशलाई आफ्नो नीजि सम्पत्ति ठान्यो । मेरो परिवारले डिभिडेन्ट खानुपर्छ, श्रीमती, भाई, छोराछोरी, भतिजाको रुपमा भन्दा सबै ठाउँमा भ्रष्टाचार भयो । सिस्टमलाई कामै गर्न दिएनन्, जनताको कामै हुन सकेन । यी नेताहरु पूर्व प्रधानमन्त्रीहरुले टुंडिखेलमा गएर सन्यास लिनेवित्तिकै यो समस्या समाधान हुन्छ । गणतन्त्र संकटमा छैन, नेताहरु संकटमा छन्,’– उनले भने ।
नेताहरुको कमी कमजोरीका कारणले जनतामा व्यवस्थाप्रति केही हदसम्म वितृष्णा बढिरहेको उनले बताए । नेताको कारण जनताले गणतान्त्रिक व्यवस्थाको महशुस गर्न नपाएको उनले बताए ।
गणतन्त्रमाथि आक्रमण नभएको उनले बताए । गणतन्त्रमाथि आक्रमण भए यो व्यवस्थाको रक्षाका लागि लाखौं जनता सडकमा आउने उनको दाबी छ । नेताहरुले सुरक्षा संयन्त्र, अर्थतन्त्र ध्वस्त पारेको उनले बताए ।
गणतन्त्रमा नेताको छोराको बिगबिगी भएको उनले बताए । बाउको नाममा नेताहरुको छोराले कुशासन र ताण्डव गरेको उनको आरोप छ । उनले राप्रपालगायत राजावादी भनिएका पार्टीहरुले राजा ल्याउन खोजेको नभएर राजा देखाएर दुईचार सिट बढि जित्ने मेलोमात्रै गरेको बताए ।