Logo

अध्यक्ष तिमिल्सिनासहित २० राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै, एमालेको ‘टाउको दुखाई’ गठबन्धन दल



काठमाडौं, १३ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदहरुको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसरी पदावधि सकिनेमा नेकपा (एमाले) बाट ९ सांसदहरुमा अध्यक्ष तिमिल्सिना, भैरव श्रेष्ठ, कुमार दसौँदी, इन्दु कडरिया, दीलकुमारी रावल थापा (पार्वती), दीपा गुरुङ, रामचन्द्र राई, नरपति लुवार र विमला राई पौड्याल रहेका छन् । एमालेका नौं सांसदमध्ये विमला राई पौड्याल भने मनोनित सांसद हुन् ।

त्यसैगरी, कांग्रेसबाट पदावधि सकिने ४ सांसदहरुका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । माओवादीबाट पदावधि सकिने ३ सांसदमा महेशकुमार महरा, विना पोखरेल र हरिराम चौधरी रहेका छन् । एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र नन्दा चापागाईँको पदावधि सकिँदैछ ।

त्यसैगरी, जसपाकी प्रमिला कुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि आगामी फागुन २० गते सकिँदै छ । सजपाकी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री रहेकी छन् ।

यसैबीच, सरकारले आज राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिन लागे पनि निर्वाचन भने १९ सांसदका लागिमात्रै हुनेछ । एमालेकी नेतृ विमला राई पौड्याले मनोनित सांसद हुन् । पदावधि सकिएपछि उनको ठाउँमा सरकारकोे सिफारिसमा राष्ट्रपतिबाट पुन मनोनित गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने एक महिना अगाडिनै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका, प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ ।

प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरीे निर्वाचित छपन्न जना निर्वाचित र एक जना महिलासहित सरकारको सिफारिमा राष्ट्रपतिबाट निर्वाचित तीन जना गरी ५९ सदस्यी राष्ट्रिय सभा रहने व्यवस्था संविधानले गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा एमालेको टाउको दुखाई गठबन्धन दल बनेको छ । कोशी प्रदेश गठबन्धन दल र एमालेको पनि स्पष्ट आधार छैन । कोशीमा कुन दलका उम्मेदवार निर्वाचित हुने भन्ने आधार राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलले निर्धारण गर्नेछ । आम निर्वाचनमाजस्तै सत्ता गठबन्धन दलहरुले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्ध संस्कृति कायमै राखे एमालेलाई घाटा हुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्