काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको खुट्टानै नभएको टिप्पणी गरेका छन् । आज (शुक्रबार समृद्धिका लागि संकल्प यात्रामा रहेका ओलीले डडेलधुराको अमरगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै वर्तमान सरकार गठबन्धनको छेस्कामा अढिएको टिप्पणी गरेका हुन् । वर्तमान सरकारको कुनै नीति, सिद्धान्त, योजना र कार्यक्रमनै नरहेको उनको आरोप छ ।
‘यो सरकार कसैले ढाल्नुपर्दन । सरकार हल्लिराखेको छ । चर्याकमर्याक भइराखेको छ । तर, हामी यो तीन हप्ताको अभियानमा लागिरहेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो कुनै खुट्टा भएको सरकार होईन, गठबन्धनको छेस्काले अढ्याएको हो । यसको कुनै सिद्धान्त, नीति, योजना, कार्यक्रम छैन,’– ओलीले भने ।
वर्तमान सरकार प्रचण्डपथमा हिँड्ने कोशिस गरेर पनि नसकेको उनको टिप्पणी छ । उनले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको समेत आरोप लगाए ।
‘अहिले मोटामोटी भन्ने हो भने यो सरकार माओवादीका नीतिमा, प्रचण्डपथमा हिँड्न खोजेको छ । सकिराखेको छैन । नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ,’– उनले भने ।