Logo

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे ।

“संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन सोचका साथ मैले त्यो विषय बोलेको हुँ,”– प्रधानमन्त्री प्रचण्डले भने ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दापनि आफूले उक्त विषय उठाएको उनले स्मरण गराए ।

त्यसपछि आफ्नो निमन्त्रणामा महासचिव गुटेरेस नेपाल भ्रमणमा आउनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महासचिवले नेपाल भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखेर उक्त विषयलाई विश्वव्यापी बनाउन सहयोग गरेको बताए ।

नेपालमा जलवायुको असरको विषय विश्वव्यापी रुपमा चर्चा भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई अधिकार दिनुपर्छ भन्ने माहोल बन्दै गएको उल्लेख गरे । उनले कोप–२८ उद्घाटनका अवसरमा महासचिव गुटेरेसले आफ्नोमन्तव्यमा नेपालको नाम लिनु नेपालका लागि खुसीको कुरा भएको बताए ।

युवा पुस्ताका विचार र भावनालाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो विषय दायित्व सबैको भएको बताए ।उनले कोप–२८ मा नेपालका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन नेपालका प्रतिनिधिमण्डल सबैलाई निर्देशन दिए । सम्मेलनमा सरकारले सशक्त रुपमा तयारी गरेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्