Logo

भूकम्प ईपीसेन्टरमा खटिएको एमाले नेता पौडेल भन्छन्, ‘मिडियामा धेरै छन्, मैदानमा हामी छौं’



काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का युवा नेता किरण पौडेल यतिबेला भूकम्पको ईपीसेन्टर जाजरकोटमा छन् । उनी र उनको टिम जाजरकोटका भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माणमा ब्यस्त छ ।

भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माणमा जुटेका पौडेलले आफूहरुले घर,टहरा निर्माणमात्रै नभएर सामाजिक सेवाको भावलाई नयाँ उचाइबाट प्रेरित गरेको बताए । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले जाजरकोटको भूकम्पपछि मिडियामा धेरै आएपनि बास्तविक मैदानमा भने आफूहरुमात्रै रहेको बताए । एमालेका नेताहरुकोकार्य शैलीको प्रभावकारिताका कारण पछिल्लो समय माओवादीका नेताहरुले सोही शैलीलाई अनुशरण गरिरहेको उनको दाबी छ ।

‘मिडियामा धेरै छन्, मैदानमा हामी छौं । नेकपा (माओवादी) समेत हामीबाट प्रेरित भएको छ र हिजोबाट हाम्रै शैली पछ्याइ रहेको छ,’– उनले भने ।

आफूहरुले कुरा कम काम धेरै गर्न प्रेरित गरिरहेको उनले बताए । अस्थायी आवास निर्माणमा खटिएका एमाले नेता तथा कार्यकर्ताहरुले आफ्ना लागि आवश्यक खाधान्न, आवास लगायत बस्तुको प्रबन्ध आफैंले गर्ने गरेको उनले बताए । स्थानीय जनता र पार्टीलाई एमालेका नेता तथा कार्यकर्ताले भार नदिएको उनको भनाई छ ।

स्थानीयबासीको माया र स्नेहलाई आफूहरुले सम्मान गर्ने गरेको पनि उनले बताए । ‘जनतालाई भार पर्ने केही गर्दैनौ । तर, कहिले काही बाध्य छौं । बिहान सबेरै क्याम्पमा कोही साग सब्जी लिएर आउनुहुन्छ । कसैले घरमा पाकेको एक कचौरा मासु, तरकारी, बारीको भोगटे आदि लिएर आउनु हुन्छ । स्थानीयबासीको यस्तो स्नेह भावले हामीलाई प्रेरित गर्छ । नकार्न पनि मुस्किल हुन्छ,’– उनले भने ।

सेना प्रहरीले जोखिम मानेका र स्थगित गरेका भग्नावषेशसमेत एमालेका स्वयंसेवकहरुले क्लीयर गरेको उनको दाबी छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले एक हजार स्वयंसेवक खटिएको उनले बताए । २५ जनाको दरले ४० टुकडी बनाएर अस्थायी आवास निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार अहिले एमालेबाट परिचालित स्वयंसेवकको रुकुम पश्चिममा १५ र जाजरकोटमा २५ समूह क्रियाशील छन् ।

एमालेको स्वयंसेवक टोलीले आजसम्म पाँच सय अस्थायी आवास निर्माण, चार सय भग्नावशेषको व्यवस्थापन र छ वटा अस्थायी विद्यालय निर्माणको काम सम्पन्न गरिसकेको नेता पौडेलले बताए ।

अभियान अझ एक हप्ता चल्ने र आफूहरुको प्राथमिकतामा सुत्केरी तथा एकल महिला,अशक्त जेष्ठ नागरिक ,बालबालिका, भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई राखेर काम गरिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्