Logo

टीकापुर घटनाको अन्तिम सत्य पीडित परिवारलाई भन्दिन्छुः रेशम चौधरी



काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको वास्तविकता पीडित परिवारलाई भनिदिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनाबारे आफूलाई त्यहाँका जनताले भनेको सत्य कुरा पीडित परिवारलाई भनिदिने बताएका हुन् ।

‘रिगलको मुद्दामा अदालतको फैसला तपाईँले पढ्नुभयो ? पीडितहरुको सहमति विना कसैलाई पनि आममाफी मिल्दैन ।’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘म रिगल होईन । म चाहन्छु उहाँ (पीडित परिवार) ले पनि न्याय पाउनुपर्छ । त्यो परिवारले पनि अन्तिम सत्य थाहा पाउनु पर्छ । म भन्दिन्छु, परिवारलाई भन्दिन्छु म । तर, सार्वजनिक मिडियामा भन्न सक्दिन । मैले नदेखेको घटना कसरी भन्न सक्छु ? मैले जे सुने, त्यो भन्न सक्छु ।’

पत्रकार धमलाले टीकापुर घटनाबारे आफूले सुनेको कुरा भन्नका लागि आग्रह गर्दा नेता चौधरीले सबै कुरा रंगमञ्चमा भन्न सुहाउँदा नहुने बताए । उनले टीकापुर घटना जनताले जानिसकेको बताए । जनताले टीकापुर घटनाबारे बास्तविकता बुझेरनै ८÷८ जना सुरक्षाकर्मीको हत्या अभियोग लागेको बेला आफूलाई र स्थानीय तह निर्वाचनमा र संघीय संसद् निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई जिताएको उनको दाबी छ । टीकापुर घटनामा आफ्नो र थारु समुदायहरुको कुनै सहभागिता र संलग्नता नरहेको उनको भनाइ छ ।

उक्त घटना घटेपछि छानविन गर्नका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएका घटनाको वास्तविकता बाहिर आउने उनले बताए । आफूले प्रत्येक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेपनि सरकारले सार्वजनिक गर्न नचाहेको उनको भनाइ छ । उनले आफू अदालतको आदेश मानेर साढे ८ वर्ष जेलमा बसेपनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु भन्ने सोही अदालतको आदेश राज्यले नमानेको उनको भनाइ छ । साथै, कानुन न्यायसम्मत नभएर ब्यक्तिसम्मत चलिरहेको समेत उनले बताए । टीकापुर घटनाको वास्तविक दोषी जनता र लाल आयोगलाई थाहा भएको उनले बताए । उक्त घटनाबाट आफू असाध्यै पीडित मानिस भएको उनले बताए । उक्त घटनामा आफ्नो संलग्नता नरहेपनि फूलबारी एफएम, घर जलेको, साह्रा सामान लुटपाट भएको उनले बताए ।

टीकापुर घटनामा मारिएका ८ जना सुरक्षाकर्मीका परिवारलाई भेटेर छलफल गर्ने तयारीमा रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्