Logo

भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन



काठमाडौँ, २ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने बताएका छन् ।

‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ निम्न व्यापारी सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देश दिए ।

“ प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ”, उनले भने, “शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ । ”

सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेकोे बताए । “परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,” उनले भने ।

समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताए ।

सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०÷४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गरे ।

समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् । Photo By: Dinesh Chaudhary /RN



प्रतिक्रिया दिनुहोस्